मोलुङ गाउँपालिका–७ मा वडा कार्यालयले प्रवाह गरेका सेवा र भूकम्पपछिको पुनः निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र ७ नं. वडा कार्यालयको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २१ गते ७ नं. वडा कार्यालय नजिकै तालकोटबजारमा गरिएको थियो ।
सुशासन नेपालले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष हेमबहादुर सुनुवार, पुनः निर्माण प्राधिकरणले खटाएका प्राविधिक युवराज राई, वडा सचिव मित्रप्रसाद पोखरेल, वडा स्तरका योजनाका उपभोक्ता समितिका अध्यक्षहरू सोनाम शेर्पा र ओङ्दा शेर्पा जबाफदेही वक्ताका रूपमा उपस्थित थिए ।
सार्वजनिक सुनुवाइमा वडा कार्यालयको तर्फबाट अध्यक्ष सुनुवारले वडा कार्यालयका सेवाका बारेमा जानकारी गराएपछि सरोकारवाहरूले जिज्ञासा राखेका थिए ।
सहभागी जीतबहादुर बिकले वडाबाट दलित लक्षित बजेट नपाएको गुनासो गरे । उनले वडाअध्यक्षलाई दलित समुदाय लक्षित बजेट दिन माग गरे ।
भूकम्प पीडित सुन्तली बिकले आंशिक क्षतिमा घर परेका पीडितका घर भत्किने अवस्था रहेकाले पूर्ण क्षतिको राहत दिन माग गरिन् । उनले घर निरीक्षण गर्न प्राविधिक खटाउन पनि माग गरिन् ।
सहभागी अर्पण सुनुवारले वडाका योजनाको पारदर्शिता, दिगोपना र स्थानीयको आवश्यकताका आधारमा हुनुपर्ने बताए ।
उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन पर्याप्त बजेट दिन, स्वास्थ्य संस्थामा औषधि र उपकरण पर्याप्त दिनु पर्नेमा जोड दिए ।
वडा सचिव मित्र पोखरेलले वडा कार्यालयका काम तथा आम्दानी खर्चका बारेमा जानकारी गराएका थिए । सहभागीको सवाल सम्बोधन गर्दै वडा कार्यालयका तर्फबाट ६ बुँदे प्रतिबद्धता जनाइएको छ ।
दलितलाई आगामी वर्षको बजेटमा सम्बोधन गर्ने, विद्यालय तथा वडा कार्यालय जोड्ने सडक प्रथामिकतामा राख्ने, विद्युत मर्मतका लागि व्यवस्था गरिएको बजेट खर्च भए पनि कुलो चुहिने भएकाले पुनः मर्मत गर्न लगाउने, खानेपानी आयोजना सञ्चालनमा भएको ढिलाइबारे तत्काल समन्वय गर्ने प्रतिबद्धता जवाफदेही वक्ताले जनाएका छन् ।
त्यस्तै भूकम्पले क्षति भएका घर आंशिक लाभग्राहीमा परेकाले पूर्ण क्षतिमा सूचीकृत गर्न पहल गर्ने र घर पुनः सर्भेक्षण गराउने तथा भूकम्पको पूर्ण क्षतिमा परी मापदण्ड बन्नु अगावै बनेका घरलाई अनुदान दिन सिफारिस गर्ने वडा अध्यक्षले लिखित प्रतिबद्धता जनाएका छन् ।
सरोकारवालाहरूले सार्वजनिक सुनुवाइमार्फत वडा कार्यालयमा आफ्ना गुनासा र सवाल सम्बोधन गर्न सजिलो भएको भन्दै इन्सेकलाई धन्यवाद ज्ञापन गरेका छन् ।



शिवप्रसाद ढुङ्गाना