अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्ज र मानव अधिकार निगरानी समूह पाल्पाको आयोजनामा जेठ १४ गते बगनासकाली गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवाग्राही र सेवा प्रदायकबीच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा बगनासकाली गाँपाका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले गाउँपालिका स्तरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको पूर्ण उपयोग हुने गरी नीति कार्यक्रम अगाडि बढाएको बताइन् ।
उनले यसप्रकारको कार्यक्रमले गाउँपालिकालाई योजना निर्माण प्रक्रियामा समेत टेवा पुग्नेमा जोड दिइन् ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले सेवाप्रदायक र सेवाग्राहीबीच रहेको दुरीलाई कार्यक्रमले नजिक बनाउन पहल गर्ने बताए ।
कार्यक्रममा सेवाग्राहीहरुले युवालाई स्वरोजगार बनाउने बाहनामा प्रमाणपत्र धितो राखेर ऋण दिँदा काम गर्ने चाहना भएका तर प्रमाणपत्र नभएका युवा अप्ठेरोमा परेको, सिंचाइको सुविधा पर्याप्त नभएको, बर्थिङ सेन्टरमा जेनेरेटरको ब्यवस्था नहुँदा मोवाइलको लाइटले सेवा दिनुपरेको, पशु सेवा केन्द्रहरुले प्रभावकारी सेवा नदिएको लगायतका जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, नागरिक समाजका प्रतिनिधि, कर्मचारी तथा अन्य सेवाग्राही गरी ६० जनाको सहभागिता रहेको थियो ।


यज्ञमूर्ति तिमिल्सिना