अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जको आयोजनामा जेठ १४ गते जानकी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवा प्रदायक निकाय र सेवाग्राहीवीच अन्तरक्रिया सम्पन्न गरिएको छ ।
जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले अब बजेट बनाउँदा शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका बिषयलाई ध्यानमा राखेर कार्यक्रम बनाउने प्रतिवद्धता जनाइन् ।
उक्त गाउँपालिका प्रशासकीय अधिकृत महेन्द्रबहादुर शाहीले अभिभावकले आफ्ना बालबालिकाको शिक्षा, स्वास्थ्यका विषयमा सधैँ सचेत हुनु पर्ने बताए ।
उनले कुनै अभिभावकमा आर्थिक समस्याका कारण शिक्षा स्वास्थ्यबाट वञ्चित भए थप सुविधा प्रदान गर्ने प्रतिवद्धता जनाए ।
जानकी गाउँपालिकाका कानुनी सल्लाहकार अधिवक्ता पदम पाण्डेले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पाण्डेले आधारभुत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्वसम्बन्धी आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको हुने र आधारभुत तहको शिक्षा हासिल गर्नु नागरिकको कर्तव्य रहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
स्मृति देवकोटा