घोराही उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पाठ्यपुस्तकका लागि रकम नआउँदा पाठ्यपुस्तक खरिदमा समस्या भएको सम्वन्धित विद्यालयहरुले गुनासो गरेका छन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत सेवाप्रदायक निकाय र सेवाग्राहीबीच चैत २७ गते घोराहीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विद्यालयका शिक्षकहरुले नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दासम्म पनि रकम पाउन नसकेको बताए ।
‘वैशाखको पहिलो हप्तादेखि पठनपाठन सुरु हुन्छ । तर, अहिलेसम्म पाठ्यपुस्तकका लागि विद्यालयको खातामा रकम आइपुगेको छैन ।’–मावि जजरागाउँका संरक्षक शिक्षक धु्रवराज अधिकारीले भने–‘उधारोमा व्यवसायीले पुस्तक दिन मानिरहेका छैनन् । कसरी पठन पाठन गर्ने हो ?’
मावि झिङनीका संरक्षक शिक्षक बामदेव अधिकारीले रकम आउन ढिलाई भएपछि पुस्तक लिएरपछि भुक्तानी दिनेगरी काम गर्न उपमहानगर अन्तर्गतको शिक्षा महाशाखाले आग्रह गरेपनि व्यवसायीले नदिएको गुनासो गरे ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख नारायण पौडेलले कर्मचारी समायोजनका कारण काममा ढिलाई भएको उल्लेख गर्दै वैशाख ६ गतेसम्म सबै विद्यार्थीहरुका हातमा पुस्तक पुर्याउने प्रतिवद्धता जनाए ।
उपहानगरपालिकाकी उपप्रमुख सीता न्यौपाने सिग्देलले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारप्रति उपमहानगर गम्भीर रहेको बताइन् ।
घोराही उपमहानगरपालिकामा ९८ सामुदायिक विद्यालय छन् । ती मध्ये केहीले मात्रै पुस्तक उधारोमा लगेको पुस्तक व्यवसायी संघका पूर्व जिल्ला अध्यक्ष घनश्याम बरालले बताए ।
उनका अनुसार दाङका १० ओटै स्थानीय तहमा सबै पुस्तक पुग्न नसकेको र रकम अभावकै कारण पुस्तक पठाउन नसकिएको हो ।
जे.एन.सागर