जनताले चाहेको विकास र समृद्धि प्राप्त गर्न तिनै तहका सरकारहरूले नागरिक समाजसँग सहकार्य गर्नु पर्ने प्रदेश ३ प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बताए ।
अनौपचारिक क्षेत्र सेवा (इन्सेक) द्वारा फागुन ९ गते मकवानपुरको हेटौँडामा आयोजित ‘नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौति’ विषयक कार्यक्रममा सभामुख श्रेष्ठले सो कुरा बताएका हुन् ।
पुराना कानुन र नीतिका अवरोधले पनि जनताले चाहेबमोजिम विकासका कार्य अपेक्षित रूपमा सम्पन्न हुन नसकेको अवस्थालाइ परिवर्तन गर्नु जरूरी भएकोले निर्वाचित निकायले आफ्नो भूमिका बढाउँदै लैजानु पर्ने आवश्यकता रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा प्रदेश ३ सभाका सदश्यहरू मुनु सिग्देल, प्रेमबहादुर पुलामी र जुनेलीमाया श्रेष्ठले प्रदेश ३ सभाले विकास र जनसरोकारका कानुनी तथा नीतिगत सवालहरूमा नागरिक समाजसँग हातेमालो गर्न तयार रहेको बताए ।
प्रदेश सभा सदस्य मुनु सिग्देलले नागरिकसमाजले आफ्ना कार्यहरूलाई जबाफदेही बनाउनु पर्ने र स्थानीय सरकारलाई सहयोग तथा निगरानी बढाउनु पर्नेमा समेत जोड दिए ।
हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामाले स्थानीय सरकारले जनअपेक्षा बमोजिमको कार्य गर्न उपलब्ध र दक्ष नागरिक समाज संस्थाहरूसँग सहकार्य बढाउदै लैजाने वातावरण बनाउने जनाइन् ।
सहभागी नागरिक समाज संस्थाका प्रतानिधिहरूले सहकार्यको सहज वातावरण बनाउन र जबाफदेही तथा जनउत्तरदायी कार्य गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका थिए ।
इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले तिनै तहका सरकारहरूले जन अधिकार रक्षा र विकासलाई आफ्नो प्राथमिकतामा राख्नु पर्ने औँल्याइन् ।















प्रदेश ३ कार्यालय, काठमाडौँ