INSEC Online

📅 २०८३ जेष्ठ २१

नगरपालिकालाई बालमैत्री बनाउन प्रतिबद्ध छौँ–उप प्रमुख बस्नेत

भीमेश्वर नगरपालिकालाई बालमैत्री बनाउन प्रतिबद्ध रहेको र यस अभियानलाई सफल बनाउन सबै पक्षको भूमिका आवश्यक पर्ने भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले बताएकी छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा चरिकोटमा पुस १२ र १३ गते बाल अधिकार चेतना समूहका पदाधिकारी र सदस्यहरुका लागि आयोजित क्षमता अभिबृद्धि तालिमको उद्घाटन समारोहमा उपप्रमुख बस्नेतले पाँच कक्षासम्म खाजाको व्यवस्था, बालबालिकालाई अतिरिक्त गतिविधि सञ्चालनमा नगरपालिकाले प्रोत्साहनका काममा सहयोग गरेको र यसलाई आगामी दिनमा थप प्रभावकारी योजना ल्याइने बताइन् ।

बालबालिकाबिच परिवार र विद्यालयमा गरिने विभेद अन्त्य गर्न नगरपालिका एक्लैको प्रयास पर्याप्त नहुने भएकोले इन्सेक जस्ता अधिकारका क्षेत्रमा काम गर्ने संस्थाको भूमिका अझ महत्वपूर्ण रहने कुरा बताइन् ।

इन्सेकको अभियानले स्थानीय सरकारले लक्षित समुदायलाई वार्षिक रूपमा विनियोजन गर्नुपर्ने ३५ प्रतिशत विनियोजित भए नभएको र विनियोजित रकम सही सदुपयोगका लागिसमेत निगरानी गरी सुझाव दिन समेत आग्रह गरिन् ।

बस्नेतले बालबालिकामैत्री गतिविधी सञ्चालनमा बाल अधिकार चेतना समूह, मानव अधिकार निगरानी समूहले वार्षिक कार्यक्रम बनाई नगरपालिकामा योजना पेश गरेमा रकम विनियोजन गरिने समेत बताइन् ।

इन्सेक, प्रदेश ३ का संयोजक कृष्ण गौतमले बालबालिका आफ्नो अधिकारप्रति सचेत भइ अधिकार खोज्न सकुन् भन्ने अभिप्रायले बाल अधिकार चेतना समूहका लागि क्षमता अभिबृद्धि तालिमको आयोजना गरेको बताउँदै बाल अधिकारप्रति अभिभावक, बिद्यालय परिवार, सम्बद्ध निकायको ध्यान जानुपर्ने बताए ।

उद्धव पोखरेल

अन्य

भिडियो