अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रदेश स्तरीय सम्पादन भेला पुस ९ गतेदेखि पोखरामा सुरू भएको छ ।

दुई दिनसम्म चल्ने भेलामा मनाङ र मुस्ताङ बाहेक प्रदेशका कास्की, बागलुङ, स्याङ्जा, पर्वत, तनहुँ, म्याग्दी, गोरखा र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लाका जिल्ला प्रतिनिधिहरू सहभागी भएका छन् ।
सम्पादन भेलाको उद्घाटनमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेशका निर्देशक दिपकजङ्ग ध्वज कार्कीले मानव अधिकार वर्ष पुस्तकमा मौलिक हकको कार्यान्वयनको अवस्थालाई पनि समेट्नु पर्ने बताए ।
‘मौलिक हक कार्यान्वयनको चरणमा रहेका छौँ । वर्ष पुस्तकमा यसलाई पनि समेट्न सकियो भने अझ राम्रो हुन्छ ।’-कार्कीले भने-‘अपराध बढ्नु, शान्ति सुरक्षा नहुनु पनि मानव अधिकार उल्लङ्घन हो ।’
उनले मानव अधिकारका क्षेत्रमा मानव अधिकार आयोग र इन्सेकको सहकार्य आवश्यक रहेको पनि बताए ।
इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकारकर्मीले काम गर्ने क्षेत्र फराकिलो बन्दै गएको भन्दै जिल्ला प्रतिनिधिले स्थानीय तहसँगको सहकार्य बढाउँदै लैजान आवश्यक रहेको धारणा राखे ।

इन्सेक केन्द्रीय कार्यलयकी गिता मालीले नेपाल मानव अधिकार वर्ष पुस्तकमा सबैको पहुँच हुने भएकोले पनि सङ्कलन गरिने घटना तथा विवरणमा सत्य र तथ्यत कुरा मात्रै उल्लेख गर्नुपर्ने बताइन् ।
कार्यक्रममा जिल्ला प्रतिनिधिहरूले आआफ्नो जिल्लाको मानव अधिकार अवस्थाको बारेमा जानकारी गराएका थिए ।
सुशन घिमिरे