नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम र लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको सुरुवात धादिङबेसीमा मङ्सिर ९ गते गरियो ।
कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाहरूका बारेमा इन्सेकका प्रतिनिधि सीताराम अधिकारीले प्रस्तुत गरेका थिए ।
बालबालिका माथिको बलात्कार ११, यौनजन्य दुर्व्यवहार एक, बालबालिकामाथि कुटपिटको घटना सात ओटा रहेको उनले बताए ।
यसैगरी महिला बलात्कारका सात, बलात्कार प्रयासका चार, बहुविवाहको एक, कथित बोक्सी आरोपमा दुई र घरेलु हिंसाका १० ओटा घटनाहरू वर्ष पुस्तकका लागि अभिलेख गरिएको अधिकारीले बताए ।
जिल्ला समन्वय समितिकी उपप्रमुख विन्दा बरामुले मानव अधिकार संरक्षण र लैङ्गिक हिंसा विरूद्धको अभियान स्थानीय तहबाट समेत लागी परेर कमी गर्न लागि पर्नुपर्ने बताइन् ।
उनले महिलामाथि हुने हिंसाका घटना जिल्ला तहमा आधाभन्दा बढी नै रहेकाले सबै जना जुटेर मानव अधिकारको लागि लाग्न आग्रह गरिन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार महतोले लैङ्गिक हिंसाको अन्त्यका लागि प्रहरी, सामाजिक अगुवा सबै मिलेर अभियान चाल्नु पर्नेमा जोड दिए ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले घर तथा कार्यस्थलमा मानव अधिकार संरक्षण र लैङ्गिक हिंसाविरूद्ध प्रतिवद्धता जाहेर गर्न आग्रह गर्दै आफूले समेत प्रतिवद्धता जनाए ।
लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियानको पूर्व सन्ध्यामा मङ्सिर ८ गते बेलुका धादिङबेसीमा दिप प्रज्ज्वालन गरी अभियानको सुरुवात गरिएको हो ।
महिलामाथि हुने हिंसा अन्त्य गर्न सबै लाग्न र सचेतना अभियानलाई निरन्तर चलाउँदै लैजान आफूहरू समेत लाग्ने जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको प्रतिवद्धता छ ।
नीलकण्ठ नगरपालिका, सहयात्री समाज, इन्सेक, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल, प्रयास नेपाल, आइसिडिसीलगायतका संस्थाहरूको आयोजनामा धादिङबेसी पुछार बजारमा दिप प्रज्ज्वलन गरिएको हो ।
यसअघि पुछारबजारबाट लैङ्गिक हिंसाविरूद्ध सचेतनामूलक प्रभातफेरी गरि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर छलफल कार्यक्रममा रूपान्तरण गरिएको थियो ।









सीताराम अधिकारी