नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ७ गते खलङ्गामा सम्पन्न गरिएको छ ।
सङ्कलित घटना २०१९ को मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन गर्ने इन्सेक जुम्लाका जिल्ला प्रतिनिधि मानदत्त रावलले बताए ।
उनले भने–‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको पुनः पुष्टी गर्न र छुटेका घटनाहरूलाई समावेश गर्नका लागि प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको हो ।’
सन् २०१८ को जनवरीदेखि हालसम्म जुम्लामा गैरराज्य पक्षबाट हत्या एक, गैरराज्य पक्षबाट धम्की र कुटपिट चार, भौतिक सम्पत्ति क्षति पाँच, झडपमा घाइते एक, बहुविवाह एक, परिवारजनबाट हत्या एक, बलात्कार, बलात्कार प्रयास तथा यौन दुर्व्यवहारका आठ ओटा घटना सङ्कलन गरिएको इन्सेक प्रतिनिधि रावलले बताए ।
सन् १९९२ देखि इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक हरेक वर्ष प्रकाशन गर्दै आएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, जुम्लाका मानव अधिकार अधिकृत धर्मराज शाहीले यो वर्ष मानव अधिकार उल्लङ्घनका घटनाहरू बढि प्रकाशनमा आएको बताए ।
प्रभावकारी अनुसन्धान नभएको कारण यो वर्ष मानव अधिकारका घटनाहरू बढे उनको भनाई छ । उनले घटना सङ्कलनका क्रममा पनि समन्वय र सहकार्य गरी सबै घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नुपर्ने बताए ।
तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले राधाकृष्ण हत्याका विषयमा सबै मौन बस्नुले पनि मानव अधिकार संरक्षणमा धक्का पुगेको बताइन् ।
मानव अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति सुरक्षाको महसुस गराउने सवालमा प्रहरी प्रसाशनले देखाएको मौनताले नागरिकमा नैरश्यता उत्पन्न भएको उनको भनाई छ ।
नियमन् निकाय मौन बस्नुले पीडितले न्याय नपाएको भन्दै न्याय सम्पादनमा चलखेल भएको उनको भनाई छ । जातीय आधारमा अझै समाज मानव अधिकार हनन्का घटना बढिरहेको सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य बलिराज शाहीले बताए ।
नेकपा नेता आदिप्रसाद न्यौपानेले भने–‘राधाकृष्ण बुढ्थापा हत्याका पीडितलाई न्याय सम्पादनमा ढिला हुनुमा मिलेमत्तो भएको हुनसक्छ ।’
राप्रपा नेपालका नेता बृख सुवारले अनुसन्धान फितलो भएकै कारण न्याय सम्पादनमा अन्यौलता भएको आरोप लगाए ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले रचनात्मक भन्दा आलोचनात्मक सुझाव मात्रै दिने संस्कारको विकास भएकाले समस्या हुने गरेको बताए । अनुसन्धान फितलो नभएको भन्दै प्रहरी प्रशासनले आफ्नै संयन्त्र अनुसार काम गरिरहेको र सुरक्षा अवस्था मजबुद रहेको उनले दावी गरे ।
इन्सेकले मानव अधिकार संरक्षणका क्षेत्रमा गरेको काम सरहानीय रहेको भन्दै, घटना घटनुका कारण पत्ता लगाउनुपर्नेमा उनको जोड रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सिताराम रिजालले प्रहरी आफैँ सबै थोक नभएको भन्दै नागरिकको साथ पनि आवश्यक रहेको बताए । शान्ति सुरक्षा कायम नभएको खण्डमा प्रहरीमा खबर गर्न पनि उनले आग्रह गरे ।
मानदत्त रावल