लिखु तामाकोसी गाउँपालिका-६ खिम्ति रामेछापले प्रवाह गरेको सेवा र भूकम्पपछिको पुनर्निर्माणको विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम मङ्सिर ५ गते रामेछापको लिखु तमाकोसी गाउँपालिका-६ को वडा कार्यालयको प्राङ्गणमा सम्पन्न गरिएको छ ।
वडाकार्यालयको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), हुराडेक नेपाल दोलखा र रेडियो तीनलाल एफएमको सहजीकरणमा गरीएको कार्यक्रममा वडाअध्यक्ष शिवप्रसाद न्यौपाने, सचिव केहरमान तामाङ, पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर अमित कर्णले प्राथमिक स्वास्थ्य केन्द्र खिम्तिका इञ्चार्ज डाक्टर जीवन न्यौपाने प्रमुख जबाफदेहीका रूपमा रहेका सो कार्यक्रममा वडा सचिव केहरमान तामाङले वडा कार्यालयमा गत वर्ष १ करोड २७ लाखका योजना तथा कार्यक्रमहरू सम्पन्न भएको जानकारी दिए ।
त्यसैगरी गतवर्ष ४७ हजार रुपियाँ आन्तरिक राजश्व उठेको पनि उनले जानकारी दिए । उनले यस वर्षसो वडामा कुल १ करोड ६६ लाखको कार्यक्रम स्वीकृत भएको बताए ।
कार्यक्रममा पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका इञ्जिनियर अमित कर्णले भूकम्प प्रभावितको सूचीमा परेका ८ सय ६८ घरले पहिलो किस्ता, ८ सय ८ घरले दोस्रो र ६ सय ३४ घरले तेस्रो किस्ता रकम लिएको जानकारी दिए ।
प्राथमिक स्वास्थ्य केन्द्रका इञ्चार्ज डाक्टर जीवन न्यौपानेले स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए ।
कार्यक्रममा सहभागिहरूले विषयगत कार्यालयका कर्मचारीहरू वडा कार्यालयमा नियमित नभएका, सडक निर्माण भए पनि यातायात नियमित नभएको, विद्यालयमा भौतिक पूर्वाधारको व्यवस्था नहुँदा पठनपाठनमा समस्या भएको, भूकम्पले घर भत्किएर गुनासो भर्दा पनि अझै सुनवाइ नभएको, विकासका काम समयमै सुरू नहुँदा गुणस्तरीय नभएको गुनासो गरे ।






नवराज पथिक