राज्यले आफैँले बनाएको कानुनको सही कार्यान्यवन नगरेको पोखरामा मङ्सिर ५ गते आयोजित एक कार्यक्रमका सहभागीहरूले गुनासो आरोप लगाएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समिक्षा कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेशका निर्देशक दिपकजंगध्वज कार्कीले कानुनको सही कार्यान्वयन गर्ने प्रहरीले घटनाको उजुरी नलिने, उजुरी लिएका घटना दर्ता नगर्ने जस्ता कार्यले मानव अधिकारको प्रत्याभूत हुन नसकेको बताए ।
उनले मानव अधिकार उल्लङ्घनका कारणहरू के के हुन् ? भनेर पत्ता लगाउन नसके घटनाहरूमा कमी नआउने बताए । ‘मानव अधिकार उल्लङ्घनका कारणहरू पत्ता लगाऔँ । मानव अधिकार शिक्षालाई जबाफदेहीमूखी बनाऔँ । अनि जबाफदेही निकायसँग जबाफ मागौँ ।’–उनले भने ।
कार्यक्रममा इन्सेक, कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेले सन् २०१८ जनवरीदेखि हालसम्म कास्की जिल्लामा घटेका मानव अधिकार हनन् तथा ज्यादतीका घटनासम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।
प्रस्तुत विवरण अनुसार कास्कीमा राज्य र गैरराज्य पक्षबाट भएका विभिन्न घटनामा परी २ सय २२ जना व्यक्ति प्रभावित भएका छन् ।
यस वर्ष कास्कीमा राज्यपक्षबाट भएका घटनामा परी ११ जना महिला र ४८ जना पुरूष गरी ५९ जना तथा गैरराज्यपक्षबाट भएका विभिन्न घटनामा १ सय ४९ जना महिला र १४ जना पुरूष गरी १ सय ६३ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत देवी शर्माले पीडितले म पीडित छु भन्ने थाहा पाउँदा पाउँदै पनि विभिन्न कारणले न्यायिक निकायसम्म पुग्न नपाउने अवस्था कायमै रहनु दुखःद् भएको बताइन् ।
‘घटनाको प्रकृति हेर्दा मन दुख्छ । घटना घट्ने क्रम रोकिएको छैन । शक्ति सम्पन्न वर्गले न्यून वर्गलाई राजनीतिक शक्तिको आडमा दबाउने प्रवृत्ति हावी हुँदा पीडित सधै अन्याय परेका छन् ।’–उनले भनिन् । शर्माले यसै वर्ष मन्त्रालयले सामाजिक जागरण अभियान सुरूवात गर्न लागेको जानकारी दिइन् ।
जिल्ला प्रहरी कार्यलय, कास्की स्थित महिला तथा बालबालिका सेवा केन्द्रकी इन्स्पेक्टर चन्द्रा गुरूङले सबैजसो अपराध र हिंसाको घटनाका प्रमुख कारण मादक पदार्थ रहेको बताइन् । उनले मादक पदार्थ सेवनको क्रमलाई नियन्त्रण गर्न सके घटनाहरूमा कमी आउने बताइन् ।
जिल्ला अदालत बार इकार्ईका अध्यक्ष मुक्तिनाथ सापकोटाले इन्सेकले दैनिक घटेका घटनाहरूलाई अभिलेख गरेर सुसूचित गराउँदै आएको प्रति धन्यवाद ज्ञापन गरे ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल, कास्कीका अध्यक्ष विष्णु बरालले इन्सेकले समाजलाई सुसूचित गर्ने काम गर्दै आएको भन्दै अब घटना सङ्कलन सँगसँगै घटना न्यूनीकरणमा समेत प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । कूसंस्कार र कुरितिलाई छोड्न नसक्दा आज पनि महिला हिंसाका घटना घट्ने क्रम जारी रहेको बरालको भनाई थियो ।
गैरसरकारी संस्था महासंघ, कास्कीका अध्यक्ष पदमराज पहारीले नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत इन्सेकले समाजमा मानव अधिकार चेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । पहारीले राज्यले माध्यामिक स्तरको पाठ्यक्रमा नै मानव अधिकारसम्बन्धी जानकारी समावेश गर्नुपर्ने बताए ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले वर्ष पुस्तकमार्फत इन्सेकले राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा नेपालको मानव अधिकारको अवस्था चित्रण गर्ने, राज्यलाई मानव अधिकारको संरक्षणका लागि जिम्मेवार बनाउने काम गरिरहेको बताए ।
सुशन घिमिरे