अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि सङ्कलित घटनाहरूको समीक्षा गरेको छ ।
जिल्ला समन्वय समितिको सभा हलमा मङ्सिर ४ गते आयोजित कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सङ्कलन गरेका घटनाहरूको समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख बवी चाम्लिङ्ग, जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार केसी, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, शाखा दिक्तेलका प्रमुख सुवोध पोखरेल लगायतको उपस्थिती थियो । यस्तै, अधिकारकर्मी, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगायत सवै निकायका व्यक्तित्वहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख बवी चाम्लिङ्गले मानव अधिकार उल्लङ्घनका घटना न्यूनीकरणमा सबैको भूमिका रहने बताए ।
सुरक्षा निकाय, पत्रकार, अधिकारकर्मी, नागरिक समाज लगायत सबैको सहकार्य तथा सक्रियताले मात्र यस्तो घटनामा न्यूनीकरण आउने चाम्लिङले प्रष्ट पारे ।
सन् २०१८ जनवरीदेखि हालसम्म जिल्लामा अभिलेख गरिएका घटनाहरूमध्ये सबैभन्दा बढी बलात्कारको प्रयास, बलात्कार तथा कुटपिटको घटना रहेका छन् । सात जनामाथि बलात्कारको प्रयास भएको र पाँच जना बालिकालाई यौन दुव्र्यवहारबाट पीडित भएका छन् । ११ जनामाथि बलात्कार भएकोमा चार जना बालिका तथा सात जना महिलाको सङ्ख्या रहेको छ ।
यो वर्ष ११ वटा कुटपिट तथा घाइते भएको घटना इन्सेक जिल्ला प्रतिनिधिले अभिलेख गरेका छन् । जिल्लामा ५ जनामाथि हत्याको प्रयास भएकोमा एक जना बालक पीडित भएका छन् ।
दुई ओटा हत्या भएकोमा एक बालिकाको बलात्कार पछि हत्या गरिएको घटना अभिलेख गरिएको छ ।
हत्याकै घटनामा पतिले पत्नीको हत्या गरेको घटना समेत उल्लेखित छ । इन्सेकले दुई ओटा बहुविवाह, जातीय छुवाछुतका घटना सङ्कलन गरेको छ ।
यो वर्ष महिला हिंसा, कथित बोक्सीको आरोप, भौतिक संरचना क्षतिका एक/एक घटना जिल्लामा सङ्कलन गरिएको छ ।
रामधन राई