उदयपुरमा पछिल्लो १० महिनाको अवधिमा बलात्कारका घटना बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्याङ्कले देखाएको छ ।
कात्तिक २९ गते सदरमुकाम गाईघाटमा आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व समीक्षा कार्यक्रममा जिल्लामा ३९ ओटा बलात्कारका घटना भएको तथ्याङ्क प्रस्तुत गरिएको हो ।
३९ ओटा घटनामध्ये २६ ओटा बलात्कार र बाँकी १३ ओटा बलात्कार प्रयासका घटना रहेका छन् । इन्सेकको अभिलेख अनुसार बलात्कार र बलात्कार प्रयासबाट २१ जना बालिका र १८ जना महिला पीडित भएका छन् ।
कार्यक्रममा इन्सेक प्रतिनिधि भरत खड्काले सन २०१८ को जनवरीदेखि अक्टोवरको अन्तिमसम्म अर्थात १० महिनामा जिल्लामा ७० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू भएको प्रतिवेदन सार्वजनिक गरेका छन् ।
इन्सेकको अभिलेख अनुसार उदयपुरमा सबै घटना गैरराज्य पक्षबाट भएको तथ्याङ्कले देखाएको छ । समग्र घटनाबाट ७३ जना पीडित भएका छन् । इन्सेकको अभिलेखमा रहेका ७० ओटा घटनामध्ये ३४ ओटा अदालतले फैसला र मेलमिलापकर्तामार्फत मिलापत्र गरिएको जनाइएको छ ।
घटनालाई हेर्दा बालिका बलात्कार १२, यौन दुर्व्यवहारका आठ, अपहरण गरी बालिका बलात्कार एक, महिला बलात्कार १३, बलात्कारको प्रयास ५, घरेलु हिंसा १५, बहुविवाहका पाँच ओटा रहेका छन् ।
त्यसैगरी बम विष्फोटनबाट बालक घाइते एक, कर्मचारीमाथि दुर्व्यवहार दुई, जनप्रतिनिधि माथि दुर्व्यवहार एक, हत्या दुई, बालविवाह दुई, अभक्ष खुवाएको एक र वैवाहिक बलात्कारको एउटा घटना रहेका छन् । सङ्कलित घटनामा तीन जना आरोपित फरार रहेको देखाइएको छ ।
तथ्याङ्कमा सात वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएको उल्लेख छ । अपाङ्गता भएका महिला र बालबालिका जो अरूको सहयोगमा जिउन बाध्य हुन्छन जो प्रतिकार गर्न सक्दैनन उनीहरू पनि बलात्कारबाट पीडित भएका छन् ।
बालिका र बालकबिच नै बलात्कारका घटना हुनु निकै ठुलो चुनौतीको विषयका रूपमा खडा भएको जनाइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले यौनजन्य घटना न्यूनीकरणका लागि सबैको साथ सहयोग अपरिहार्य रहेको बताए ।
विधिको शासन प्रयोगमा जोड दिँदै उनले यौनजन्य हिंसा बढ्नु जीवनशैली, समाजको खुल्लापन र सामाजिक सञ्जाल रहेको बताए । प्रजिअ कार्कीले मानव अधिकारका बहस र पैरवी विगतभन्दा पछिल्लो समय निकै भएपनि अध्ययनको विषयमा कमी हुनुले विधिको शासनलाई कमजोर बनाउन खोजेको बताए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन रानाभाटले घरघरमा भित्रिएका प्रविधि बालबालिकाका लागि खतरनाक रहेको बताए । इन्टरनेटले वालबालिकाको यौनजन्य व्यवहारमा परिवर्तन ल्याएको बताए ।
गैरसरकारी संस्था महासङ्घका केन्द्रिय उपाध्यक्ष सृजना दनुवारले सञ्चारमाध्यमको निरन्तर खबरदारीबाट मात्र समाज र कानुनका पालकहरू सजग रहने बताए ।
उनले घटना जुन रूपले सञ्चारमाध्यमले बाहिर ल्याउँछ, न्यायलयबाट गरिएका कारवाही त्यही रूपमा नआउँदा कारवाही के भयो भन्ने विषय गौण रहने गरेको बताइन् ।
कार्यक्रममा इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले मानव अधिकार संरक्षण र सम्बद्र्धनमा थुपै्र चुनौती देखिएकाले सबै क्षेत्रले कानुन कार्यान्वयनमा सघाउ पुर्याउनु पर्ने बताए ।
भरत खड्का