अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेह्रथुमको आयोजनामा कात्तिक २० गते नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

मानव अधिकार हनन्का घटना सार्वजनिक कार्यक्रमका जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुङ्गानाले जिल्लामा महिला हिंसा र बलत्कारसम्बन्धी घटनाको सङ्ख्या बढ्नु दुःखद् भएको बताएका छन् ।
उनले स्थानीय जनप्रतिनिधिहरू आएपछि मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण हुनुपर्ने भएपनि जिल्लामा बलात्कारका घटना बढ्नुले समाज कुन दिशामा अगाडि बढिरहेको छ भन्ने छर्लङ्ग देखिने धारण राखे ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले जिल्लामा अझै पनि महिलाहरू सुरक्षित हुन नसक्नुले पीडित महिलाको सङ्ख्या बढेको धारणा राखिन् । उनले महिलाहरू सुरक्षित रूपमा हिँडडुल गर्नका लागि अझै समस्या हुनु भनेको जिल्लाकै लागि चुनौती भएको बताइन् ।
कार्यक्रममा इन्सेक तेह्रथुमका जिल्ला प्रतिनिधि भगिश्वर लिम्बुले अधिकांश ज्यादतीका घटना गैरराज्य पक्षबाट भएको घटना सार्वजनिक गरेका छन् ।
समीक्षा कार्यक्रममा सन् २०१८ जनवरी १ देखि नोभेम्बर ५ सम्ममा हत्या १, कुटपिट ४, बलात्कार, बलात्कार प्रयासका १०, घरेलु हिंसा ४ लगायतका घटना सार्वजनिक गरिएको छ ।
यसैबिच इन्सेकले हिंसापीडित कोषबाट नगद २ हजार रुपियाँ बलात्कार घटनाबाट पीडित १७ वर्षीया बालिकालाई प्रदान गरिएको छ ।
भगिश्वर लिम्बु