शिक्षा, स्वास्थ्य र खाद्य अधिकारमात्र नभई निगरानीको दायरा बढाउन सरोकारवालाहरूले मानव अधिकार निगरानी समूहलाई आग्रह गरेका छन ।

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठित मानव अधिकार निगरानी समूहलाई नियमित विकासका गतिविधिमा पनि निगरानी बढाउन सम्वन्धित निकायहरूले आग्रह गरेका हुन ।
असार १६ गते घोराहीमा आयोजित जिल्लास्तरीय सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठकमा बोल्दै उनीहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसँगै गाउँगाउँमा हुने विकासे कामलाई पनि निगरानीमा राख्न सके दिगो विकासमा टेवा पुग्ने बताएका थिए ।

‘शैक्षिक अधिकार, स्वास्थ्य र खाद्य अधिकारमा निगरानी समूहले नमूनै काम गरेको छ ।’-घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले भने-‘निगरानी समूहले उल्लेखित विषयसँगै विकास, निर्माणलगायत गाउँतहमा हुने विभिन्न गतिविधिको पनि निगरानी गर्नुपर्छ ।’
उनले घोराही उपमहानगरपालिकाको वडा नं. ३, ४, ६ र ७ मा निगरानी समूह गठन हुनु सरहानीय काम भएपनि यसलाई विस्तार गरेर १९ वटै वडामा पुर्याउनुपर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् कार्यक्रमका अध्यक्ष जीतेन्द्रमान नेपालीले गास, बास, कपास, शिक्षा, स्वास्थ्यलगायत नागरिक अधिकारकालागि सबै इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए ।

‘आफ्नोमात्रै अधिकार खोज्ने प्रवृत्ति देखिएको छ ।’-नेपालीले भने-‘अब अरूको अधिकारका लागि आफूले गर्ने कर्तव्यका बारे पनि सबै इमान्दार हुनुपर्छ । त्यसमा मानव अधिकार निगरानी समूहले भूमिका खेल्नुपर्छ ।’
राजनीतिक परिवर्तन आएपनि नागरिक अधिकार र कर्तव्यका विषयमा खासै परिवर्तन हुन नसकेकोमा उनले दुःख व्यक्त गरे ।
जेएन सागर