नेपाल मानव अधिकार वर्षपुस्तक समाजको अवस्था उजागर गर्ने दस्तावेज भन्दै सरोकारवालाहरूले वर्षपुस्तकले राज्यलाई झक्झक्याउने काम गरेको बताएका छन् ।
नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको असार ९ गते घोराहीमा गरिएको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै सरोकारवालाहरूले अपराध नियन्त्रणका लागि राज्यलाई सही नीति, कार्यक्रम र योजना बनाउन वर्षपुस्तक उपयोगी हुने बताए ।
घोराही उपमहानगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक सीता न्यौपानेले इन्सेकले प्रकाशन गर्ने वर्षपुस्तकले राज्यलाई सजग गराएको बताइन् । उनले समाजमा भएका विविध घटनालाई उजागर गरेर सरोकारवालाहरूलाई सचेत बनाउने काम सराहनीय भएको बताइन् ।
वडा प्रहरी कार्यालयका इन्स्पेक्टर रञ्जन अवालले अपराध विहीन समाजको कल्पना गर्न नसकिने भन्दै नागरिकलाई सचेत बनाउनु पर्नेमा जोड दिए । उनले दण्ड सजायले अपराध रोकिन नसकिने भन्दै यसलाई उजागर गरेर सचेतना फैल्याउने काम गरेकामा इन्सेकलाई धन्यवाद ज्ञापन गरे ।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले इन्सेकले सङ्कलन गर्ने घटनाको दायरा बढाउन आग्रह गरे । समाजमा मानव अधिकारसँग जोडिएका थुप्रै घटना हुने भएकाले ती सबै घटनालाई समेट्न सुझाव दिए ।
इन्सेक जिल्ला प्रतिनिधि जे.एन. सागरले बितेको ६ महिनामा (जनवरीदेखि जुनसम्म) ८४ वटा घटना अभिलेखिकरण गरिएको र सबैभन्दा धेरै २७ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना भएको बताए । जसमा २३ जना बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटनाबाट पीडित भए ।
६ महिनाको अवधिमा ८४ घटनामा ९८ जना पीडित भएको र ८१ जना गैरराज्यपक्षबाट र १७ जना राज्यपक्षबाट पीडित भएका छन् ।
त्यस्तै २५ वटा धम्की कुटपिट, पाँच वटा हत्या/हत्या प्रयास, कथित बोक्सीको आरोपमा दुर्व्यवहारबाट एक, कथित छुवाछुतका एक, दुर्व्यवहार ६, गैरकानुनी हिरासत/यातना पाँच लगायत ८४ घटना भए ।
जे.एन.सागर