नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि अभिलेखित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ७ गते महेन्द्रनगरमा सम्पन्न गरिएको छ ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले मानव अधिकार वर्षपुस्तकका लागि सन् २०१८ को ६ महिनामा सङ्कलन गरेका ५० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरेका थिए ।
हालसम्म कञ्चनपुर जिल्लामा ३५ वटा घरेलु हिंसा, चार वटा हत्या, चार वटा बलात्कार, दुई वटा जातीय विभेद, दुई वटा मानव बेचबिखन, एउटा गैरकानुनी थुना र दुई वटा सम्पति क्षतिसहित ५० वटा घटना अभिलेख गरिएको इन्सेक प्रतिनिधि भाटले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण गर्नका लागि प्रहरी सदैव साथमा रहेको र इन्सेकले मानव अधिकार संरक्षणमा मार्गदर्शकको रूपमा काम गरेको बताए ।

जिल्ला न्याधिवक्ता खेमराज भट्टले मानव अधिकारको क्षेत्रमा इन्सेकले महत्वपूर्ण भूमिका खेलेको बताउँदै मानव अधिकार उल्लङ्घनका घटनाहरूमा संलग्नहरूलाई खबरदारी गर्नुका साथै मानव अधिकार शिक्षासम्बन्धी सचेतनामुलक कार्यक्रम गर्न आग्रह गरेका छन् ।
कोमलनिरन्जन भाट