भूकम्प गएको तीन वर्षबितिसक्दा पनि मकवानपुरमा ५ हजार ४ सय ८३ घरमात्र पुनर्निर्माण भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जेठ २३ गते हेटौँडामा आयोजना गरेको भूकम्पपीडितहरूको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सोमराज तिमल्सिनाले जानकारी गराए ।
मकवानपुरका ३१ हजार ८ सय १७ लाभग्राहीमध्ये २४ हजार ८ सय ८७ लाभग्राहीसँगमात्र सम्झौता भएको र सम्झौता भएकामध्ये पहिलो किस्ता २३ हजार ९ सय ६९ लाभग्राहीले लगेको कार्यान्वयन इकाईका प्रमुख तिमल्सिनाले सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी दिएका थिए ।
दोस्रो किस्ता १४ हजार ८ सय १५ लाभग्राहीले बुझेर लगेका छन् भने तेस्रो किस्ता ५ हजार ७ सय ५७ लाभग्राहीले लगेका तिमल्सिनाले बताए । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रवलीकरणतर्फ ५ हजार १ सय ४९ जना लाभग्राही भएपनि १ हजार ९ सय ४४ लाभग्राहीसँग सम्झौता भएको छ भने १ हजार ८ सय ८९ लाभग्राहीले पहिलो किस्ता लगेका छन ।
प्रवलीकरणका लाभग्राहीले पहिलो किस्ता र दोस्रो किस्ता गरेर १ लाख रुपियाँ अनुदान रकम पाउँछन् । कार्यक्रममा पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईले मकवानपुरमा पुनर्निर्माणको कार्य सुस्त गतिमा भएका विचार व्यक्त गरे ।
हेटौँडा उमनपा-९ का भूकम्पपीडित दिर्घराज थिङले पहिले नै घर बनाएको तर मापदण्ड अनुसार घर निर्माण नगरिएको भन्दै इन्जीनियरले त्यो घरलाई मान्यता नदिएको भन्दै गुनासो पोखेका थिए । मकवानपुर गढीका रामेश्वर शर्माले घर भूकम्पमा क्षति पुगेपनि प्रवलीकरणमा पर्नुपर्नेमा नपरेको गुनासो गर्दै यसको विधि र प्रक्रिया बारेमा जिज्ञासा राखेका थिए ।
प्रताप विष्ट