INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारी अस्पतालबाटै म्याद सकिएको औषधि विक्री गरेकोप्रति निगरानी समूहको ध्यानाकर्षण

दमौली अस्पतालबाट म्याद सकिएको औषधि विक्री गरिएकोप्रति मानव अधिकार निगरानी समूहले ध्यानाकर्षण भएको जनाएको छ ।

जेठ १४ गते दमौली अस्पताल प्रशासनलाई पत्र बुझाउँदै निगरानी समूहले तनहुँ सदरमुकाम दमौलीको एक मात्र सरकारी स्वामित्वको दमौली अस्पतालबाट म्याद सकिएको औषधि विक्री वितरण भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Photo20180528Tanahu

सरकारी अस्पताल भित्रै सञ्चालित औषधि पसलबाट नै यसरी म्याद सकिएको औषधि विक्री गरिनु निकै दुःखद् भएको भन्दै समूहले यस्तो कार्यले सरकारी स्वास्थ्य संस्थालाई हेर्ने नागरिकको दृष्टिकोणमा परिवर्तन आउन सक्ने जनाएको छ ।

राज्यले सरकारी स्वास्थ्य संस्थाबाट नागरिकले बढीभन्दा बढी सेवा लिन सकुन् भन्ने र नागरिकलाई स्वास्थ्य सेवा निशुल्क रूपमा प्राप्त होस् भन्ने उद्धेश्यले सरकारी स्वास्थ्य संस्थाबाट ७० प्रकारका सम्म औषधिहरू निशुल्क वितरण गरेको भन्दै निगरानी समूहले सरकारले उपलब्ध गराएको ति औषधि र सेवाहरू नागरिकले गुणस्तरीय र प्रभावकारी रूपमा पाउन पनि सरकारी स्वास्थ्य संस्थाहरू गम्भीर बन्नै पर्ने जनाएको छ ।

ध्यानाकर्षणपत्रमा दमौली अस्पतालबाट सेवाग्राहीलाई निशुल्क रूपमा वितरण गरिने औषधिहरू पर्याप्त मात्रामा उपलब्ध गराउन र औषधिको गुणस्तर मापनको कार्यलाई प्रभावकारी बनाई भविष्यमा यस्ता कमजोरीहरू नगर्न अस्पताल प्रशासनसँग अनुरोध गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै अस्पताल प्रशासन शाखाका नायव सुब्बा गोविन्द सुवेदीले म्याद सकिएको औषधि वितरण हुनु निकै दुखःद् भएको बताए । उनले पोखराको तमु फार्मेसीबाट ल्याइएको एपेक्स नामको औषधिको कार्टुन भित्र २ प्याकेट औषधि मात्र गत वर्षनै म्याद सकिएको भेटिएको बताए । उनले अस्पतालको कमजोरीले उक्त औषधि सेवाग्राही समक्ष पुगेको बताए ।

सो अवसरमा अस्पतालकी निमित्त प्रमुख डा. सिर्जना शर्माले अबदेखि अस्पतालले यस्तो कमजोरी नगर्ने प्रतिबद्धता व्यक्त गरिन् । म्याद सकिएको औषधि पठाएको बारेमा दमौली अस्पतालले तमु फार्मेसीलाई स्पष्टिकरण सोध्ने उनले बताइन् । उनका अनुसार औषधि खरिद गर्नुभन्दा अघि नै म्याद सकिएको औषधि फार्मेसीले आफूहरूलाई पठाएको हुँदा उक्त कार्य गम्भीर लापरवाही भएको बताइन् ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो