अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गल्छी गाउँपालिकाको आयोजनामा गल्छी गाउँपालिका-२ कल्लेरीको केउरीनीमा जेठ १२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
भूकम्प प्रभावितले घर निर्माण गर्दा अनिवार्य नक्सा पास गर्न नियम लागु गरेपछि लाभग्राहीले सास्ती व्यहोर्नु परेको सार्वजनिक सुनुवाइमा सहभागी भएकाहरूले गुनासो गरेका छन् ।
गाउँपालिकाले तय गरेको नक्सा पासको नियम अनुसार नक्सा पासका लागि काम गर्दा प्राविधिकले खर्च लाग्ने भन्दै रकम असुलेको र घर पास गरिदिन्छु भन्दै गाउँमा पुनर्निर्माणका लागि खटिएका प्राविधिकले रकम मागेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिहरूले गुनसो गरे ।
बिल लिएरमात्र गाउँपालिका र वडामा राजश्व तिरी रसिद लिन र कसैले अतिरिक्त शुल्क मागेमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमक्ष गुनासो गर्न गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले आग्रह गरिन् । अनियमित काम गर्नेलाई कारबाही गरिने उनको भनाई छ ।
गल्छी गाउँपालिका-१, २ र ३ वडामा कसैलेपनि तेश्रो किस्ता नपाएको गुनासो आएकाले अर्को सातापछि तेश्रो किस्ताको सिफारिस गरिने २ न. वडाका अध्यक्ष षडानन्द खनालले प्रतिबद्धता जनाए ।
गाउँपालिकाका उपाध्यक्ष तिमल्सिना, वडाअध्यक्षहरु पूर्णप्रसाद खतिवडा, षडानन्द खनाल र कपिल रेग्मीले गुनासोहरूको सम्बोधन गरिने प्रतिबद्धता जनाए ।
लाभग्राही सूचीमा परेर रकम नपाएकाले तत्काल वडामा सम्पर्क गरी समस्या समाधान गर्न र गाउँपालिकाले तय गरेको नक्सा पासको व्यवस्थालाई सरल तरिकाले लागू गर्न सहभागिहरूलाई उनीहरूले आग्रह गरेका थिए ।




सीताराम अधिकारी