भूकम्पपछिको पुनर्निर्माणको प्रभावकारिता विषयक सार्वजनिक सुनवाइ कार्यक्रम जेठ ५ गते मन्थली नपा-७ भटौलीमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मन्थली नपा-७ नं वडा कार्यालय, मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) र सान नेपाल रामेछापको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले भूकम्पका कारण निजी आवास क्षति भएको तर लाभग्राहीको सूचीमा नपरेकाहरूलाई लाभग्राहीको सूचीमा समावेश गर्नुपर्ने माग गरेका थिए । साथै यसअघि वडामा खटिएका पुनर्निर्माण प्रधिकरणका प्राविधिकले लाभग्राहीलाई विभिन्न बहानामा दुःख दिने गरेको भूकम्पपीडितले गुनासो गरे ।
भूकम्पपीडितहरूको गुनासो र मागका विषयमा जबाफ दिँदै मन्थली नपा-७ का वडा अध्यक्ष सुदर्शन प्रसाईँले विगतमा प्राविधिकको कारण समस्या भएको भएपनि अब त्यस्तो हुन नदिने बताए ।

वडा सचिव श्यामकिशोर साहले सेवाग्राहीको सेवालाई सहज र सरल बनाउन आफू सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
रूद्राक्षेश्वर माविका प्रधानाध्यापक ध्रुव मैनालीले विद्यालयले प्रवाह गरेको सेवाको बारेमा जानकारी दिँदै यस वर्षबाट आधारभूत तहमा अङ्ग्रेजी माध्यमबाट पनि पठनपाठन सुरू गरिएको बताए ।
सार्वजनिक सुनुवाइमा भूकम्पले क्षति पुगेका तर लाभग्राहीको सूचीमा नपरेका भूकम्प पीडितलाई लाभग्राहीको सूचीमा समावेश गर्न वडा कार्यालयको तर्फबाट पहल गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।
नवराज पथिक