गजुरी गाउँपालिका-५ राइगाउँका विजय राई र ज्ञानबहादुर राईले अनुदान सम्झौता रकम पाउन सकेका थिएनन् । ०७४ असोज २६ गते लाभग्राही सूचीमा राखेर अनुदान सम्झौता गरेको भएपनि सरकारले अन्य भूकम्पपीडितलाई रकम दिएपनि उनीहरूलाई रकम नदिएपछि समस्यामा परेका थिए ।
उनीहरूले अनुदान सम्झौताको रकम पाउन नसकेपछि गाउँपालिका र जिल्ला सदरमुकाम धाउँदाधाउँदा आजित भइसकेका थिए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०७४ फागुन २९ गते राईगाउँमा सार्वजनिक सुनुवाइ गरियो । सार्वजनिक सुनुवाइमा गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत, उपाध्यक्ष सीता ढुङ्गानाले पीडितले राखेका गुनासोमा जबाफ दिँदै भूकम्प पीडितको समस्या समाधान गर्न तत्काल पहल गर्ने बताएका थिए ।
सार्वजनिक सुनुवाइपछि गाउँपालिाकाको पहलमा वैशाख ४ गते विजय राई र ज्ञानबहादुर राईले पहिलो किस्ताको राहत रकम पाए ।
राईगाउँमा रहेको १ सय ३० घरमध्ये १६ घरले मात्र पहिलो किस्ता रकम पाएकोमा हाल १ सय घरले सो रकम पाएर घर निर्माण सुरू गरेका छन् ।
सार्वजनिक सुनुवाइमा भूकम्पपीडितले समस्या राखेपछि भूकम्प पीडितलाई सहयोग गर्न सकिएको र गाउँमा उठाइएका अन्य विषयसमेत समाधान गर्दै जाने गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुङ्गानाले बताइन् ।
सीताराम अधिकारी