अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा जुगल गाउँपालिका-१ मा चैत ७ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सरकारी निकायको ढिलासुस्तीका कारण दोस्रो किस्ता राहत नपाएको भूकम्प पीडितले गुनासो गरेका छन् ।
जुगल गाउँपालिका-१ का एकबहादुर सिल्वालले गएको भदौमा घर बनाएर सम्पन्न गरेको तर जिल्ला समन्वय समिति र कोष तथा लेखा नियन्त्रण कार्यालयको ढिलासुस्तीका कारण हाल सम्म दोस्रो किस्ता रकम नपाएको बताए ।
जुगल गाउँपालिका-१ का वडा सचिव चन्द्रकाजी लामाले यस वडाका विभिन्न वस्तीहरूमा भूकम्पका कारण अहिले पनि जोखिमकै अवस्थामा रहेकोले त्यस वस्तीका नागरिकहरू अहिले त्रासमा बस्नु परेको बताए । गाउँ कार्यपालिका सदस्य गोमा नेपालीले भूकम्पका कारण महिलाहरूमा अझै धेरै त्रास रहेको बताइन् ।
जिल्ला समन्वय समितिका सदस्य पदमबहादुर सिल्वालले जिल्ला समन्वय समितिका कर्मचारीका कारणले भूकम्प पीडितले राहत पाउन ढिलासुस्ती भएको भन्ने गुनासो आएकाले जिल्ला समन्वय समितिको बैठकमा प्रस्तावको रूपमा राखेर हटाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जुगल गाउँपालिका-१ का वडा अध्यक्ष कमल थापाले भूकम्प पीडितलाई राहत दिलाउन आफूले सक्दो प्रयास गरेता पनि जिल्ला स्थित सरोकार निकायका कर्मचारीको ढिलासुस्ती र लापारबाहीका कारण राहतमा ढिला भएको बताए ।
नातिबावु धिताल