इन्सेकको पहलमा गठन भएको जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले गाउँपालिकामा बोटे कुमाल तथा विपन्न समुदायलाई प्राथमिकतामा राखी कृषि र पशुपालनका कार्यक्रम अगाडि बढाउन आग्रहसहित बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याललाई माघ १९ गते ध्यानाकर्षण पत्र बुझाएको छ ।

बगनासकाली गाउँपालिकाका नौ वटै वडाको भौगोलिकता, स्थानीय समुदायको चेतनाको अवस्था र आर्थिक सामाजिक अवस्था उस्तै प्रकारको छैन । ‘यहाँ फरकफरक समुदायमा फरक आर्थिक सामाजिक अवस्था रहेको छ । यसकारण पनि आर्थिक सवलिकरणका कार्यक्रमहरू सञ्चालन गर्दा विपन्न र पछाडि पारिएका समुदायलाई प्राथमकिता दिनु आवश्यक छ ।’-ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
‘पछिल्लो समय बगनासकाली गाउँपालिकामा कृषि क्षेत्रमा भएको नमुना कार्य र प्रगतिको जिल्लामा राम्रो सञ्चार भएको छ । यसले पनि गाउँपालिकाबासीमा उत्साह मिलेको छ । यसकारण गाउँपालिका भित्र दैलातुङ, दर्पुक, घोरबन्दा, पोखराथोकलगायतका गाउँमा बस्दै आएका बोटे कुमाल तथा अन्य विपन्न समुदायहरूलाई समेत कृषि तथा पशुपालनका कार्यक्रमहरूमा विशेष प्रोत्साहन गर्दै व्यक्तिगत तथा सामूहिक एवम् युवा उद्यममा प्रेरित गरी उनीहरूको आर्थिक सवलिकरणका लागि ठोस कार्यक्रम बनाई कार्यान्वयन गर्न हामी ध्यानाकर्षण गराउँदछौँ ।’-समूहका संयोजक भगवान भण्डारीद्वारा हस्ताक्षरित उक्त ध्यानाकर्षापत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्र बुझ्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले कृषि र पशुपालन क्षेत्रलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताए । उनले सरकारको प्रत्याभूति हुने गरी आफूहरूले काम गर्ने प्रतिबद्धता जनाए । यस्ता रचनात्मक सुझावहरू दिइरहन पनि अध्यक्ष बस्यालले निगरानी समूहलाई आग्रह समेत गरे ।
यज्ञमूर्ति तिमिल्सिना