मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सञ्चाल गरेको कार्यक्रमको समीक्षा तथा अनुभव आदानप्रदान बैठक असोज २९ गते मन्थलीमा सम्पन्न भएको छ । इन्सेक आबद्ध सञ्जालले सञ्चालन गरेका गतिविधिबारे इन्सेक केन्द्रिय कार्यालय र क्षेत्रीय कार्यालयका प्रतिनिधिलाई जानकारी गराई अनुभव आदानप्रदान गर्न बैठक आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै इन्सेक केन्द्रीय कार्यालयको योजना, अनुगमन तथा मूल्याङ्कन विभागकी शुभेच्छा खड्काले मानव अधिकार संरक्षण सञ्जाल रामेछापले उदाहरणीय काम गरको बताइन् । उनले सञ्जालको कामहरूको अभिलेखीकरण र सार्वजनिकीकरणमा ध्यान दिनु पर्नेमा जोड दिइन् ।
इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका प्रलेख अधिकृत राजु पासवानले मानव अधिकार संरक्षण सञ्जालको कामलाई रामेछापका सरोकारवाला निकायहरूले पनि प्रशंसा गरेको पाइएको बताए ।
कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईले सञ्जालको कार्यक्रमलाई अझै प्रभावकारी बनाउनका लागि मानव अधिकारका सवालमा काम गर्ने प्रतिबद्धता जनाए ।
सञ्जालले काम गर्ने बेला धेरै किसिमका जोखिम मोल्नु पर्ने भएकाले यस्ता जोखिम भएको समयमा राष्ट्रिय संस्थाहरूको सहयोगी भूमिकाले आफूहरूलाई बल पुग्ने प्रसाईले बताए ।
नवराज पथिक