अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक असोज २६ गते तानसेनमा सम्पन्न भएको छ ।

बैठकमा इन्सेकले पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-७ खानीगाउँ र वडा नं. ९ चापपानीमा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको विषयमा छलफल गरिएको थियो ।
बैठकमा इन्सेक क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय संयोजक शिव खकुरेलले परियोजनाको उद्देश्यका सम्बन्धमा जानकारी दिएका थिए । इन्सेक पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले अघिल्लो वर्षको कार्यक्रमको प्रभावकारिता र चालु वर्षको कार्यक्रम तथा बजेट सहितको योजना पेश गरेकी थिइन् ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले इन्सेकले सञ्चालन गरेको कार्यक्रम प्रत्यक्ष रूपले स्थानीय समुदायसँग जोडिएकोले पनि बढी प्रभावकारी भएको पाइएको बताए ।
बैठकमा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डे, कृषि विकास कार्यालयका प्रमुख किशोरमान श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी सङ्गीता रेग्मी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उमाशङ्करप्रसाद चौधरी, बगनासकाली गाउँपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्याल, महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख मनोज आचार्य, पत्रकार महासङ्घ पाल्पाका सचिव किरण कौशल, गैरसरकारी संस्था महासङ्घ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिनालगायतले आ-आफ्नो भनाई राखेका थिए ।
यज्ञमूर्ति तिमिल्सिना