राष्ट्रिय फलफुल, तरकारी थोक तथा खुद्रा विक्री केन्द्रमा रहेको विषादी मापन केन्द्रलाई व्यवस्थित तरिकाबाट सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराईएको छ ।
मानव अधिकार निगरानी समूह कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल, गैर सरकारी संस्था महासङ्घ कास्की र इन्सेकले भदौ ९ गते क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका वरिष्ठ अधिकृत धनबहादुर राना र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकाललाई सो विषयमा ध्यानाकर्षण गराएका हुन् ।
करिव आठ महिना अघिदेखि सो केन्द्रमा रहेको विषादी मापन प्रयोगशाला व्यवस्थित तरिकाले सञ्चालनमा आउन सकेको छैन ।
गतसाता मानव अधिकार निगरानी समूह कास्की, इन्सेक र पत्रकारको संयुक्त टोली अनुगमनमा जाँदा सो प्रयोगशाला सञ्चालनमा नआएको पाइएको थियो । सो पश्चात् टोलीले कृषि उपज बजार सञ्चालन समितिका अध्यक्ष रूद्र खनाल, व्यवस्थापक रूपाकुमारी दाहाल, बाली संरक्षण कार्यलयका शिव बराललगायतका सरोकारवाला निकायका अधिकारीसँग छलफल गरेको थियो ।
छलफलमा बाली संरक्षण कार्यलयका शिव बरालले कर्मचारी तथा दक्ष जनशक्तिको अभाव रहको तथा विषादी भएको तरकारी आएमा के-कस्तो कारबाही गर्ने भन्ने कार्यविधिबारे अन्यौल रहदाँ प्रभावकारी रूपमा काम गर्न नसकिएको बताएका थिए ।
सोही सन्दर्भमा रहेर भदौ ९ गते बुझाइएको ध्यानाकर्षण पत्रमा “जनताको स्वच्छ र स्वच्छ खाद्य वस्तु, खान पाउने अधिकारलाई सुनिश्चित गर्न छिटो भन्दा छिटो विषादी मापन यन्त्र सुचारू गरी सबै पक्षहरूसँग वार्ताबाट समस्या समाधान गर्न तथा गराउनका लागि ध्यानाकर्षण गराउँछौं ।” भनिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी ढकालले खाद्य पदार्थमा विषादी मिसावटको समस्या समाधान गर्न बेलाबेलामा अनुगमन गरिँदै आएको भएता पनि आवश्यक कार्यविधिको अभावको कारण नियन्त्रण गर्न नसकिएको बताए । उनले कार्यविधि बन्ने अन्तिम चरणमा रहेको र सो कार्यविधि आएपछि यसको नियन्त्रण साथै समस्याको समाधान गर्न सहज हुने जानकारी गराए ।
बाली संरक्षण अधिकृत धनबहादुर रानाले विषादीको समस्यालाई समाधान गर्न कृषकहरूलाई नै सचेत बनाउँदै जानुपर्ने बताए । रानाले स्रोत साधनको अभाव तथा दक्ष जनशक्ति नहुँदा पनि प्रभावकारी रूपमा सेवा प्रवाह गर्न नसकिएको स्वीकार गरे ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय