अनौपचारिक क्षेत्र सेवा (इन्सेक)ले शिक्षाको अधिकारसम्बन्धी सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम असार २३ गते सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै कास्कीका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले शिक्षा क्षेत्रमा रहेका कमजोरी सुधारमा आफू सक्रिय भएको र पहिलेको तुलनामा धेरै सुधार भइरहेको बताए । पौडेलले सबै शिक्षकहरूलाई एउटै तुलामा राख्न नहुने बताउँदै कमजोरी गर्नेलाई सुधार गर्ने र त्यसो गर्न नसके कारबाही गर्ने बताए ।
कार्यक्रममा मानव अधिकारकर्मी टेकनाथ बरालले राज्यले व्यवस्था गरेको शिक्षा, स्वास्थ र खाद्य अधिकार जनताले अनुभूति गर्न पाउनुपर्ने बताए । बरालले शिक्षाको सुधारका लागि जिम्मेवार निकायले आ-आफ्नो दायित्व पुरा गर्नुपर्ने कुरामा जोड दिए ।
अन्तरक्रिया कार्यक्रममा महिला तथा बालबालिका कार्यलयकी प्रमुख लक्ष्मी जिसीले बालबालिकाको भविष्य शिक्षासँग जोडिने भएकाले असल शिक्षामा कुनै पनि विद्यालय गैर जिम्मेवार हुन नहुने कुरामा जोड दिइन् ।
कार्यक्रममा मानव अधिकार निगरानी समूह लुम्लेका सचिव गोपाल देवकोटा, मानव अधिकार निगरानी समूह लाहाचोकका संयोजक नारायण पौडेल र मानव अधिकार निगरानी समूह ढिकुरपोखरीका संयोजक राधा कुवँरले आ-आफ्नो क्षेत्रका विद्यालयमा भएका कमी कमजोरी बताउँदै आगामी दिनमा कमजोरी सुधार्ने वातावरण बनाइदिन जिल्ला शिक्षा अधिकारीसमक्ष अनुरोध गरेका थिए ।
इन्सेक क्षेत्रीय कार्यलय, पोखरा