मानव अधिकारको संरक्षण गर्न राज्य/सरकार बलियो हुनुपर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जोड दिएका छन् ।
इन्सेक नेपालगञ्जको आयोजनामा असार १६ गते मध्यपश्चिमाञ्चल क्षेत्रमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा प्रजिअ पन्थले राज्य बलियो हुनुपर्ने बताउँदै मानव अधिकारको सम्मान हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले निर्वाचनको समयमा केही सानातिना घटना भए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको भन्दै सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले जनसङ्ख्या बढी भएको ठाउँमा घटना बढी हुने बताउँदै न्यूनीकरणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । प्रजिअ पन्थले गैरकानुनी गिरफ्तारीको शीर्षकमा गरिने अभिलेखीकरणमा वास्तवमा गैरकानुनी गिरफ्तारी भए नभएको बुझेर मात्र अभिलेखीकरण गर्नुपर्ने सुझाव दिए ।
राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारीप्रसाद खरेलले महिला अधिकारका घटनामा राज्य र गैरराज्य पक्ष सम्वेदनशील हुन नसकेको बताउँदै मानव अधिकार उपभोगको विषयलाई समेत इन्सेकले अभिलेखीकरण गर्नु पर्ने बताए ।
समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका घटना धेरै भएको बताउँदै स्वास्थ्य, खाद्यान्न र शिक्षालगायतका सवाललाई समेत अभिलेखीकरण गर्नुपर्ने सुझाव दिए । जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले इन्सेकको अभिलेखीकरण मानव अधिकारको दस्तावेज भएको हुँदा कुनैपनि घटनाको सुक्ष्म अध्ययन नगरिकन अफवाहमा नलाग्न आग्रह गरे ।
उच्च अदालत बार एशोसियनका अध्यक्ष बलबहादुर चन्द र सिविनका सिद्धराज पनेरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग बढी भएको बताए ।
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष प्रल्हाद कार्कीले निर्वाचन आयोगको काम कारबाही सन्तोषजनक नभए पनि सुधारोन्मुख रहेको बताए । उनले आफ्नो अधिकारलाई मात्र नभई अर्काको अधिकारको विषयमा सकारात्मक रहनु पर्ने बताए ।
गैसस महासङ्घका कार्यवाहक अध्यक्ष सपना भट्टराईले उल्लङ्घनका घटनालाई मात्र नभएर मानव अधिकारको क्षेत्रमा भएका उपलब्धी समेतलाई समेटन आग्रह गरिन् ।
इन्सेकका सधारण सदस्य कृष्णमुरारी प्रसाद भट्टको अध्यक्षता सम्पन्न कार्यक्रममा इन्सेकका प्रलेख अधिकृत नारायण सुवेदीले प्रदेश नम्बर ५ र ६ साविक मध्यपश्चिमाञ्चल क्षेत्रको २०१७ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिको मानव अधिकार अवस्थाको बारेमा जानकारी गराएका थिए ।
इन्सेकको अभिलेख अनुसार राज्य पक्षबाट २० ओटा घटनामा ५४ जना पुरूष र नौ जना महिला पीडित भएको र गैर राज्य पक्षबाट २ सय ८७ घटनामा ५९ पुरूष र २ सय ५४ जना महिला पीडित भएको उल्लेख छ । इन्सेकको अभिलेख अनुसार मध्यपश्चिमाञ्चल क्षेत्रमा विगत ६ महिनाको तुलनामा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको इन्सेकका प्रलेख अधिकृत नारायण सुवेदीले बताए । अघिल्लो ६ महिनामा २ सय ७८ घटनामा ३ सय ५ जना पीडित भएका थिए ।
विनाद पाण्डे