नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि पर्सा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विषयमा अर्धवार्षिक समीक्षा असार १५ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले सन् २०१७ को जनवरीदेखि जुनसम्मका घटनाहरूका विषयमा जानकारी गराएका थिए । ६ महिनाको अवधिमा हत्याका पाँच, मानव बेचबिखनका दुई, बलात्कार प्रयासका तीन, बलात्कारका ६, बहुविवाहका दुई, शरीरबन्धक तथा अपहरणका एक घटना भएको उनले बताएका थिए ।
कार्यक्रममा अधिवक्ता हरेराम सर्राफले मानव अधिकार उल्लङ्घनका घटनाहरू राज्यका संयन्त्रमा दर्ता भए भन्दा बढी रहेको चर्चा गरे । उनले नागरिकको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार उपभोगको अवस्था निर्माणमा साधक हुनु पर्ने राज्यनै बाधक भएर देखा परेको आरोप लगाए । अधिकारको उपभोगको वातावरण बनाउनुको साटो राज्यले बनाएका प्रक्रियाहरूले झन् बाधा सृजना गरेको उनको आरोप थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी चक्रराज जोशीले नागरिकको मानव अधिकार रक्षा गर्न पर्सा प्रहरी कटिबद्ध रहेको बताए । शून्य सहनशीलता, भ्रष्टाचारमुक्त र मानव अधिकारको रक्षाका लागि पर्सा प्रहरीको महत्वपूर्ण अभियान रहेको उनको भनाइ थियो । उनले महिलासँग सम्बन्धित विषयलाई सम्वेदनशील रूपमा हेर्ने र छिटो सेवा दिने गरिएको बताए ।
इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ