नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि कास्की जिल्लामा सङ्कलित घटनाको प्रकाशनपूर्व अर्धवार्षिक समीक्षा असार १२ गते पोखरामा सम्पन्न भएको छ ।

समीक्षामा इन्सेक जिल्ला प्रतिनिधि सङ्गीता भाटले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्दै महिला तथा बालबालिका कार्यलय कास्कीकी प्रमुख लक्ष्मी जिसीले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक एउटा महत्वपूर्ण दस्तावेजको रूपमा रहने बताइएन् । उनले अबको दिनमा श्रमिक बालबालिका र सडक बालबालिकाको अवस्थालाई पनि चित्रण गर्न आवश्यक रहेको औँल्याइन् ।
केन्द्रीय बालकल्याण समितिका श्रोत व्यक्ति बद्री वाग्लेले मानव अधिकारमा पनि बालबालिकाको विषय अझै सम्वेदनशील रहेको हुँदा बालबालिकाको हितको लागि सबै सरोकारवाला निकाय लाग्नुपर्ने बताए ।

त्यस्तै घरेलु हिंसा अन्तर्गत कानुन भएपनि व्यवहारिक रूपमा मिलापत्र गर्दा घरपरिवारमा फाटो आउने समस्यामा कमी आएको बताउँदै गम्भिर प्रकारको मानव अधिकार उल्लङ्घनका विषयलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको जिल्ला प्रहरी कार्यलय कास्कीका असई टङ्क पौडेलले बताए ।
स्थानीय शन्ति समितिका सचिवालय सदस्य खगराज आचार्यले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना अनुसन्धानको विषय भएकाले अझै विषयवस्तुको गहिराईमा गएर वर्ष पुस्तक प्रकाशन गर्नुपर्ने बताए ।
नेपाल बार एसोसियशन कास्कीका अध्यक्ष सोम श्रेष्ठले इन्सेकले घटनामा आफैँले समेत बेग्लै अध्ययन गरेर घटना बाहिर ल्याउँदा पुस्तक अझ गहकिलो हुने बताए । ल्याकका संयोजक शोभा पौडेल पराजुलीले आरोपितलाई राजनीतिक संरक्षण भएकै कारण दोषी उम्किनु र दण्डहीनता मौलाउनुको मुख्य कारण रहेको बताइन् ।
त्यस्तै महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष जानकी शर्माले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकले गरेको अभिलेखकै कारण समाजमा घट्ने घटनामा कमी महसुस हुन थालेको बताइन् ।
केन्द्रीय बाल कल्याण समिति सदस्य डाक्टर राजेन्द्र गौतमले मानव अधिकार वर्ष पुस्तकलाई लिएर अनुसन्धान गर्न सहज भएको बताए ।
इन्सेक क्षेत्रीय कार्यलका पोखराका संयोजक शिव खकुरेलले सबै सुझावलाई समेटेर वर्ष पुस्तक प्रकाशन गर्ने प्रष्ट पार्दै इन्सेक सचेतनाको अभिवृद्धि, दण्डहीनता अन्त्यको लागि र कानुनको कार्यन्वयनको पक्षमा इन्सेक सदैब लाग्ने प्रतिबद्धता जनाए ।
संगीता भाट