मानव अधिकार निगरानी समूह तनहुँले कृषि र खाद्यसम्बन्धी समस्याहरू समाधानकालागि जिल्ला कृषि विकास कार्यालयको ध्यानाकर्षण गराएको छ ।
इन्सेकद्वारा तनहुँ जिल्लाको साविक मनपाङ र जामुने गाविसमा सञ्चालन गरिएको शिक्षा स्वास्थ्य र खाद्य अधिकार अन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको क्रममा पहिचान भएका कृषिसम्बन्धी समस्याहरू समाधानकालागि सो ध्यानाकर्षण पत्र बुझाइएको हो ।

समूहका पदाधिकारीहरूले जेठ ५ गते कृषि विकास कार्यालयमा ध्यानाकर्षा पत्र बुझाउँदै जिल्लामा खाद्य र कृषिको क्षेत्रमा भएका समस्याहरू यथाशीघ्र समाधान गर्न अनुरोध गरेका हुन् ।
मानव अधिकार निगरानी समूहका संयोजक रामलिला सुवर्णकारद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा जङ्कफुड निषेध र नियन्त्रण गर्नुपर्ने, बजारमा खुल्लारूपमा गुणस्तरहीन खाद्य पदार्थ विक्री वितरण भइरहेको हुँदा त्यसलाई रोक्नु पर्ने, कृषि र पशुपालनकालागि ऋण पाउने अवस्था बनाउनु पर्ने, सिञ्चाईकालागि पाईपको व्यवस्था गर्नु पर्ने, सरकारले यसै वर्षेखि सञ्चालन गरेको प्रधानमन्त्री आधुनिक कृषि परियोजनाबारे कृषकहरूलाई जानकारी गराउनु पर्ने मागहरू समावेश गरिएको छ ।
त्यसैगरि प्लटिङले खेतीयोग्य जग्गाहरू नष्ट भएको हुँदा त्यसको रोकथाम गर्नु पर्ने, कृषकहरूलाई आधुनिक कृषिको बारेमा तालिमको व्यवस्था गर्नु पर्ने, अर्गानिक खेतीको प्रचारप्रसार गर्नु पर्ने, कृषि प्राविधिकहरूको सहज पहुँच बनाउनु पर्ने, कृषि अनुदानको बारेमा कृषकहरूलाई जानकारी गराउनु पर्ने, गुणस्तरीय मल र बीउ सुपथ मुल्यमा उपलब्ध गराउनु पर्ने र माटो परीक्षणको व्यवस्था गर्नु पर्नेलगायत मागहरू गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतन अधिकारीले आफ्नो तहबाट सम्बोधन हुन सक्ने विषयलाई तत्काल सम्बोधनको पहल गर्नु पर्ने र अन्य मागहरूलाई सम्बन्धित निकायमा जानकारी गराउने प्रतिबद्धता जनाए ।
प्रकाशचन्द्र भट्टराई