INSEC Online

📅 २०८३ जेष्ठ २१

दिउँसो २ बजे नै स्वास्थ्य चौकी बन्द गर्दा सेवाग्राही मार्कामा परेको गुनासो

दिउँसो २ बजे नै स्वास्थ्यकर्मीहरू स्वास्थ्य चौकी बन्द गर्दा बिरामीले उपचार नपाउने गरेको र सेवाग्राहीहरू मार्कामा पर्ने गरेको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् ।

Photo20170413Dhading

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले धादिङबेसीमा चैत ३१ गते आयोजना गरेको सेवाप्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा यस्तो गुनासो गर्दै जिल्लाका सबै स्वास्थ्यचौकीहरू बेलुका ५ बजेसम्म संचालनको व्यवस्था गर्न माग गरेका हुन् ।

कार्यक्रममा गल्छी गाउँपालिकाको गोगनपानीका स्थानीय नागरिक सचेतना समूहका दुर्गाबहादुर मगरले स्वास्थ्य चौकी दिउँसो २ बजे नै बन्द गर्दा बिरामीहरूले उपचार नपाउने गरेको उल्लेख गर्दै बेलुका ५ बजेसम्म स्वास्थ्य चौकी सञ्चालन गरेर सेवा दिनु पर्ने माग गरे ।

Photo20170413Dhading1

गङ्गाजमुना गाउँपालिकाका ‘रि’ स्वास्थ्य चौकी र नेत्रावती गाउँपालिकाको झर्लाङ स्वास्थ्य चौकी दिउँसो २ बजे नै बन्द हुने गरेका कारण बिरामीहरूले उपचार सेवा नपाएको स्थानीय अधिकारकर्मी तिलक घिमिरेले आरोप लगाए ।

सरकारले स्वास्थ्य सेवालाई सहज र पहुँचयोग्य बनाउन लागेको र बेलुका ५ बजेसम्म स्वास्थ्य जाँच गरी उपचार सेवा पुर्‍याउनु पर्ने सरकारले निर्देशन जारी गरेकोले कँही कतै दिउँसो नै बन्द गरेको पाइएमा कारबाही गरिने भएकोले सेवाग्राही वा नागरिकहरूले जुनसुकै बेलापनि जिल्ला स्वास्थ्य कार्यालयमा जानकारी दिन जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रामहरी रेग्मीले बताए ।

कार्यक्रममा डा. रेग्मीले ३५ प्रतिशत महिलाले घरमै सुत्केरी गराउने गरेको, ५६ प्रतिशतले मात्र चारपटक गर्भवती जाँच गर्ने गरेकोले सबैले सरकारले दिएको सेवा लिने वातावरण बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

जिल्ला शिक्षा कार्यालय प्रतिनिधि कृष्णकुमार श्रेष्ठले विद्यालय बाहिर रहेका २ दशमलब ६ प्रतिशत बालबालिकारहरूलाई विद्यालय भर्ना गरी निरन्तर विद्यालयमा अध्ययनको लागि कार्यक्रम सञ्चालन गरिएको, टुहुरा तथा अति विपन्नहरूलाई थप सहयोग समेत गर्नेगरी विद्यालय शिक्षा गुणस्तर बनाउन लागि परेको बताए । विद्यालयमा हुने किशोरी हिंसा तथा अन्य मानव अधिकार विरोधी काम गर्नेलाई कारबाही गर्ने निकायमा जानकारी दिन सबैलाई उनले आग्रह गरे ।

जिल्ला कृषि विकास कार्यालयका ध्रुब आचार्यले चैते धान खेती गरेका कृषकलाई बाली उत्पादन भएपछि दिने अनुदानको लागि धान रोप्ने किसानले अनिवार्य बाली बिमा गर्नु पर्ने भएकोले प्रचारप्रसार र पहुँच पुर्‍याउने कार्यमा लागि परेको बताए ।

सीताराम अधिकारी

अन्य

भिडियो