गुलरियामा चैत २४ गते आयोजित एक कार्यक्रमका सहभागीहरूले सम्बन्धित सरकारी तथा गैरसरकारी निकायबाट प्रवाह हुने सेवा र गुणस्तरताका साथै जवाफदेहिताको लागि उपभोक्ता सचेत र राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिएका छन् ।

इन्सेकद्वारा सञ्चालित ‘स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम’ अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रको समस्या अनुगमन विषयमा चैत २३ गते भएको सम्वाद कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत डिल्लीराम आचार्यले बजार अनुगमन समितिले समय समयमा कडाईका साथ परिणाम देखिने गरी काम गर्न नसकेको सत्य रहेको भन्दै, त्यसको लागि अनुगमनको क्रममा सम्बन्धित विषयगत कार्यालयहरूबाट पदीय जिम्मेवारी अनुसार तोकिएको व्यक्ति उपस्थित नभइदिँदा पनि समस्या भएको जानकारी दिए ।

बजार अनुगमन समितिको बैठक तत्कालै राखी काम अगाडि बढाउने बताउँदै उनले भने-‘सेवाग्राही उपभोक्ताले पनि कँही कतै नियम विपरीत कार्य भएको पाए लिखित, मौखिक रूपमा उजुरी दिनुहोला ।’
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख महेन्द्र सिंह रावलले आम नागरिकमा उपभोक्ता अधिकारको शिक्षा आवश्यक रहेको बताए । रावलले अनुगमन समितिको कामलाई व्यवहारिक बनाउन नसकेको स्वीकार गर्दै उपभोक्ताहरू आफैँ पनि सचेत भएर बस्तु तथा सेवा लिँदा वीललगायतका प्रमाण लिन र कँही कतै नियम विपरीत कार्य भएको पाए सम्बन्धित निकायमा उजुरी दिन अग्रसर हुनुपर्ने बताए ।

बर्दिया नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण वलीले राज्यको संयन्त्रलाई सक्रिय बनाउन आग्रह गर्दै नागरिक समाज नागरिक तहबाट सहयोग गर्न जहिले पनि तयार भएको बताए । कार्यक्रममा उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष नरेन्द्र शर्माले सेवाग्राहीको अधिकार र त्यससँग सम्बन्धित ऐन कानुनको बारेमा सहजीकरण गरेका थिए ।
मानबहादुर चौधरी