नागरिक समाजको छवि सकारात्मक हुनुपर्नेमा काभ्रेपलाञ्चोक, सिन्धुली र दोलखामा आयोजित कार्यक्रमका सहभागी सरोकारवालाहरूले जोड दिएका छन् । यूएसएडको सहयोगमा इन्सेकद्वारा चैत १३ गते धुलिखेल, सिन्धुलीमाढी र चरिकोटमा आयोजित पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रियामा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् ।
इन्सेक काभ्रे जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनाका अनुसार कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष पदम दुलालले ग्रामिण तहमा काम गर्ने गैर सरकारी संस्थाहरू पारदर्शी भएपनि राज्यका निकायहरू पारदर्शी नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।

राज्यलाई अप्ठ्यारो परेका बेला नागरिक समाजले सहयोगीको भूमिका निर्वाह गरेको बताउँदै उनले भने-‘विभिन्न बहानामा राज्यका निकायहरूले नागरिक समाजलाई दुःख दिने काम भइरहेको छ । यसको अन्त्य हुनुपर्छ ।’ उनले सामाजिक विकासका काम गर्ने गैससहरूलाई पारदर्शी र जवाफदेही बनाउने काम राज्यको भएको बताए ।
नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष कृष्णप्रसाद सापकोटाले नागरिक समाज भनेकै समाज परिवर्तन र समाजमा भएका अन्याय-अत्याचारका विरूद्व लाग्ने समूह भएको बताए । उनले नागरिक समाज भन्ने बितिक्कै समाजमा उनीहरूको छवि राम्रो हुनुपर्नेमा जोड दिए । नैतिकता र अनुशासन राम्रो भएमा मात्र समाज परिवर्तन गर्न सजिलो हुने उनको भनाइ थियो ।

इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डेका अनुसार गैरसरकारी संस्था महासङ्घ नेपालका महासचिव मिलन श्रेष्ठले नागरिक समाजले आफूप्रति लाग्दै आएका आरोपहरूलाई चिर्नका लागि आत्मसमीक्षा गरी सुधारतिर लाग्नुपर्ने बताए । उनले केही व्यक्ति वा नागरिक समाजका संस्थाका कारण सिङ्गो नागरिक समाज नै वदनामीतर्फ गएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए ।
महासचिव श्रेष्ठले नागरिक समाजका सङ्घसंस्थाबिच साझा बुझाइ र समन्वय हुन नसक्दा समस्या आउने गरेको भन्दै अब साझा अवधारणा विकास गर्नु आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासङ्घ सिन्धुलीका सचिव विदुर पौडेलले गैससहरूले संस्थागत लोकतान्त्रिक अभ्यास र विधिको शासनलाई पालना गर्न नसक्दा बदनाम हुन पुगेको बताए । उनले गैससहरूको छवि सुधार गर्नका लागि संस्थागत अभ्यास र पारदर्शितामा ध्यान दिनुपर्ने बताए ।
महिला अधिकारकर्मी शान्ता पाख्रिनले संस्थाहरूले लोकतान्त्रिक अभ्यास गरेर सकारात्मक सोचको विकास गर्न जरुरी रहेको बताइन् । कार्यक्रममा बोल्ने अधिकांश सहभागीले नागरिक समाजको पहिचान, व्यक्तिगत छवि र भूमिकाले पारेको प्रभाव र अबको नागरिक समाजको भूमिकाका विषयमा छलफल गरेका थिए ।
इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दिपेन्द्र सिंहले सरकार र नागरिकको सहयोगी भई पुलको काम गर्ने नागरिक समाजका संस्थाहरूको छविमा प्रश्न उठेको भन्दै आ-आफ्नो संस्थाको छवि सुधार्ने बेला आएको बताए ।

उनले नागरिक समाजमा आवद्ध ब्यक्तिहरू विभिन्न राजनीतिक दलमा संलग्न भई कार्यक्रम सञ्चालन गर्नु, आर्थिक पारदर्शिता कायम गर्न नसक्नु र भए गरेका कामको सबन्धित पक्षलाई जानकारी गर्न कञ्जुस्याईँ गर्नुले नागरिक समाज आलोचित हुँदै आएको बताए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य चिरञ्जिवी मास्केले नागरिक समाज र यसका अभियन्ताहरू राजनीतिक रूपमा प्रस्तुत हुने नभइ सामाजिक सवालमा एकजुट हुनुपर्ने बताए ।
नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेतले विगतमा नागरिक समाज र गैरसरकारी संस्थाको भूमिका राम्रो रहेको र आम नागरिकमा परिवर्तनको पक्षमा काम गर्ने पहिचान पाएकोमा हाल आलोचनाको विषय बनेको बताए ।
अनलाइन डेस्क