अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम फागुन २५ गते तानसेनमा सम्पन्न भएको छ ।

अन्तरक्रियामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने कार्यक्रम अन्तर्गत इन्सेकले सञ्चालन गरेको परियोजना सञ्चालित चापपानी र खानीगाउँ गाविससहित जिल्ला स्तरको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा छलफल गरिएको थियो । गाविस स्तरबाट पहिचान गरी ल्याइएका समस्याहरू कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले इन्सेकले मानव अधिकार निगरानी समूह गठन गरी जिल्ला स्तरमा रचनात्मक अभियान चलाएकोमा धन्यवाद ज्ञापन गरे । उनले गाविस स्तरबाट आएका समस्या समाधानका लागि आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्वता जनाए ।

सो अवसरमा निमित्त स्थानीय विकास अधिकारी निर्मल प्याकुरेल, प्रहरी उपरीक्षक हरिराज वाग्ले, नेपाली कांग्रेस पाल्पाका सचिव अजय कर्माचार्य, नेकपा माले पाल्पाका अध्यक्ष धनराज पौडेल, एकीकृत नेकपा माओवादी केन्द्रका प्रतिनिधि गिरबहादुर थापा, उपभोक्ता मञ्च पाल्पा अध्यक्ष माधव नेपाल, गैरसरकारी संस्था महासङ्घ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना, पत्रकार महासङ्घका सचिव किरण कौशल, चापपानी मानव अधिकार निगरानी समूहका संयोजक रणप्रताप खाँणलगायतले बोल्दै जिल्ला स्तरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा रहेका समस्या राखेका थिए ।
सेवाप्रदायक निकायका तर्फबाट जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठ, जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी रेशमलाल न्यौपाने, स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपाने, जिल्ला पशु सेवा कार्यालयका प्रतिनिधि कपिल श्रेष्ठलगायतले उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए । वक्ताहरूले यसरी उठेका सवालहरूबारे आगामी कार्यक्रमहरूमा सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा जिल्लामा रहेका सेवा प्रदायक निकायका प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, जिल्लास्तरीय र गाविसस्तरीय मानव अधिकार निगरानी समूह तथा सञ्जालका पदाधिकारीहरू, युवा समूहका प्रतिनिधि, बाल अधिकार चेतना समूहका प्रतिनिधि, मानव अधिकारकर्मी, सञ्चारकर्मी गरी ५८ जनाको सहभागिता रहेको थियो ।
यसैबिच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराको आयोजनामा फागुन २५ गते जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक तानसेनमा सम्पन्न भएको छ ।
इन्सेकद्वारा पाल्पा जिल्लामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने कार्यक्रम अन्तर्गत चापपानी र खानीगाउँ गाविसमा सञ्चालन भएको कार्यक्रमको बारेमा जानकारी दिने र सरोकारवालाहरूको सुझाव सङ्कलन गर्ने उद्देश्यले सो बैठक आयोजना गरिएको हो ।
बैठकमा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले इन्सेकले सञ्चालन गरेको यस प्रकारको कार्यक्रम उपयोगी भएको बताए । उनले यस्तो प्रकारको कार्यक्रमलाई क्षेत्र विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।
निमित्त स्थानीय विकास अधिकारी निर्मल प्याकुरेलले गैरसरकारी संस्थाहरूले पनि रचनात्मक काम गर्न सक्ने बताउँदै इन्सेकको यसप्रकारको कार्यक्रमले लक्षित समुदाय प्रभावित हुने बताए ।
सो कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलले इएलपी कार्यक्रम अन्तर्गत पाल्पा जिल्लामा सञ्चालन गरिने कार्यक्रम तथा बजेटको बारेमा जानकारी गराएका थिए ।
यज्ञमूर्ति तिमिल्सिना