इन्सेकको पहलमा चापपानी गाविसमा गठित मानव अधिकार निगरानी समूहका पदाधिकारी सदस्य, महिला स्वास्थ्य स्वयम्सेविका र वडा नागरिक मञ्चका संयोजकहरूका लागि आयोजित एक दिने मानव अधिकार प्रवर्धन प्रशिक्षण कार्यक्रम फागुन ९ गते सम्पन्न भएको छ ।

चापपानी गाविसले मानव अधिकार निगरानी समूहलाई आर्थिक वर्ष २०७३/०७४ बाट मानव अधिकार प्रवर्धनका लागि २० हजार रुपियाँ रकम विनियोजन गरेको र सोही रकमबाट उक्त कार्यक्रम गरिएको निगरानी समूहका संयोजक रणप्रताप खाँणले बताए । उनले निगरानी समूहमार्फत आगामी दिनमा अझ रचनात्मक अभियान सञ्चालन गरिने बताए ।
तालिममा मानव अधिकार निगरानी समूह पाल्पाका संयोजक भगवान भण्डारी, इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, मानव अधिकार निगरानी समूह चापपानीका संयोजक रणप्रताप खाँण, सदस्य जानकी दिसुवालगायतले मानव अधिकारका विषयमा जानकारी गराउँदै स्थानीय तहमा मानव अधिकार प्रवर्धनका लागि गर्न सकिने पहलबारे सहजीकरण गरेका थिए ।
कार्यक्रमको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै गाविस सचिव तिलकबहादुर बुचाले मानव अधिकार निगरानी समूह गठन भई यस प्रकारको कार्यक्रम सञ्चालन हुनु गाविसका लागि समेत गौरवको विषय भएको बताए । उनले आगामी वर्षमेत गाविसबाट हुने सहयोगका लागि आफू प्रतिबद्ध रहेको बताए । तालिममामा ३६ जनाको सहभागिता रहेको थियो ।
यज्ञमूर्ति तिमिल्सिना