अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि माघ २७ देखि २९ गतेसम्म धुलिखेलमा सञ्चालित तालिम माघ २९ गते सम्पन्न भएको छ ।

तालिमको समापनमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले विद्यार्थीहरूका लागि सबैभन्दा ठूलो विषय शिक्षा नै भएकाले असल शिक्षा प्राप्त गरेमा असल नागरिक बन्न सकिने बताए । उनले सुनेको र देखेको भन्दा आफैले व्यबहारमा गर्दै आएको कुरा सम्झन सकिने भएकाले तालिमको आवश्यकता भएको बताए । इन्सेकले दुई दशकदेखि बाल अधिकारको क्षेत्रमा काम गरेको स्मरण गराउँदै उनले इन्सेकको क्षमताले भ्याएअनुसार बाल अधिकार चेतना समूहको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने बताए ।

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न जोड दिँदै भूकम्प, द्वन्द्व र मानव बेचबिखनबाट पीडित भएका जिल्लाहरूमा बाल अधिकार चेतना समूहका कामहरू नमूना हुनुपर्ने बताए ।

तालिममा बाल अधिकार र कर्तव्य, बाल अधिकारको ऐतिहासिक पृष्ठभूमी, बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, बाल दुर्व्यवहार र जोखिमपूर्ण श्रम, बालमैत्री विद्यालय र दण्डरहीत शिक्षा, विद्यालय तहमा बाल अधिकार र मानव अधिकार शिक्षाको अवधारणा, बालभित्ते पत्रिका र सिर्जनशिल लेखाइ, कार्ययोजना निर्माणलगायतका विषयमा छलफल गरिएको थियो ।

भोजराज तिमल्सिना