मानव अधिकार संरक्षण सञ्जाल रामेछापको संयोजन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रामेछापको आयोजनामा रामेछाप जिल्लाको मानव अधिकारको वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भयो ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि तयार पारेको घटनाहरू सार्वजनिक गरिएको थियो । इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले सन् २०१६ को यो अवधिसम्म मानव अधिकार वर्षपुस्तकको लागि २६ वटा घटना सङ्कलन गरिएको जानकारी दिए ।
ती मध्ये सबैभन्दा धेरै २१ ओटा महिला अधिकार उल्लङ्घनका घटनाहरू सङ्कलन गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । यस वर्ष राज्यको तर्फबाट एउटा घटना भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । यी बाहेक अन्य घटनाहरू गैरराज्य तर्फबाट भएको तथ्याङ्कमा उल्लेख छ ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले मानव अधिकारको संरक्षणमा प्रहरी सधैँ प्रतिवद्ध रहेको बताए । उनले इन्सेकको वर्षपुस्तकमा अपराधका घटनालाई हटाई विशुद्ध मानव अधिकार उल्लङ्घनका घटना मात्र समेट्दा अझ प्रभावकारी हुने सुझाव दिए ।
अधिवक्ता विचारसिँह तामाङले बालविवाहका घटनाहरू अझै पनि नरोकिएकोले त्यसलाई रोक्न र घटना हुन लागेको थाहा पाउने बितिक्कै मानव अधिकारकर्मीहरूले संयुक्त अनुगनमन गर्नुपर्ने बताए ।
वहुसांस्कृतिक मनोसामाजिक संस्था टिपिओ नेपालका मनोविमर्शकर्ता पूर्ण क्षेत्रीले पछिल्लो समय आत्माहत्याका घटनाहरू बढ्दै आएको बताए । उनले झट्ट हेर्दा यस्ता घटनाहरू मानव अधिकार उल्लङ्घनसँग नजोडिए पनि कुनै न कुनै रूपमा ती घटनाहरू मानव अधिकारको विषयसँग जोडिने बताए । मानिसहरू आत्माहत्याको अवस्थामा पुग्नु अघि नै मनोविमर्श सेवा दिन सके यस्ता घटना रोकिने उनले बताए ।
कार्यक्रमका सहभागीले इन्सेकले सङ्कलन गरेको तथ्याङ्कमा सबै घटनाहरू समेटिएको बताएका थिए । उनीहरूले वर्षपुस्तकलाई अझ परिष्कृत र समयानुकुल परिमार्जित गर्दै लैजान पर्नेमा जोड दिएका थिए ।
नवराज पथिक