अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा विराटनगरमा कात्तिक २३ गतेदेखि ‘साझेदार संस्थाका प्रतिनिधिहरूलाई परियोजना व्यवस्थापन तथा श्रोत परिचालन’सम्बन्धी चार दिने तालिम सुरु गरिएको छ ।
नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण परियोजना अन्तर्गत यूरोपियन युनियनको सहयोग र डिसिएको आयोजनामा उक्त तालिम आयोजना गरिएको हो ।
तालिममा इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले मानव अधिकारको सवाल बृहत भएको बताए । उनले सशस्त्र द्वन्द्वको समयमा बाँच्न पाउने कुरा महत्वपूर्ण भएपनि पछिल्लो समयमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका सवाल नै मुख्य रहेको बताए ।
डिसिएका प्रतिनिधि गेहेन्द्र गिरीले स्थानीय संस्था र नागरिक समाजले स्थानीय सवाललाई उठाउनुपर्नेमा जोड दिए ।
परियोजना संयोजक सारा न्यौपानेले नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण परियोजनाको उद्देश्य र तालिमको आवश्यक्ताबारे जानकारी दिएकी थिइन् ।
तालिममा इन्सेक, जागरण नेपाल, दलित सेवा सङघ र नेपाल अपाङ्ग समाजलगायतका संस्थाका २० जनाको सहभागिता रहेको छ ।

इन्सेक क्षेत्रीय कार्यालय, विराटनगर