अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा मानव अधिकार रक्षकका लागि दुई दिने तालिम असार २७ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ ।
तालिममा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले पत्रकारहरूले नागरिकका अधिकार उल्लघङ्न र ज्यादतीका सवालहरू उठान गर्नुपर्ने बताउँदै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र द्वन्द्व पीडितहरूका पीडाको अवस्थाका विषयमा कलम चलाउनुपर्ने धारणा राखे ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक भोला महतले मानव अधिकार रक्षकहरू मानव अधिकार उल्लङ्घन र ज्यादतीमा प्रष्ट हुन जरूरी हुने बताउँदै पत्रकारको भूमिकाको प्रत्यक्ष असर आम नागरिकमा पर्ने बताए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक झलक गैरेले अग्रपंक्तिमा पत्रकार आउने भएकाले पहिलो मानव अधिकारकर्मी पत्रकार रहेको बताउँदै साधन स्रोतको आधारमा पत्रकार महासङ्घले तालिमको व्यवस्था गर्न नसकेको भएपनि इन्सेकले यस्तो कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । उनले मानव अधिकार सबैको साझा सवाल भएकोसमेत बताए ।
असार २८ गते सम्पन्न हुने तालिममा सञ्चारमा मानव अधिकार र मानव अधिकार रक्षकको अवस्था र चुनौति, मानव अधिकार संरक्षण र सम्बर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका, इन्सेक र मानव अधिकार अनुगमन तथा अभिलेखीकरणलगायतका विषयवस्तुमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बाँकेका अध्यक्ष रूद्र सुवेदी, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, इन्सेकका प्रलेख अधिकृत नारायण सुवेदी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य झलक गैरे र पत्रकार ठाकुरसिंह थारूले सहजीकरण गर्ने इन्सेक नेपालगञ्जले जनाएको छ । तालिममा बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्लाका १६ जना पत्रकार सहभागि रहेका छन् ।

