जनकपुरधाम उपमहानगरपालिका – ४ घर भई रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर धामका क्याम्पस प्रमुख ६१ वर्षीय बसन्त कुमार कर्णले सोही क्याम्पसमा कार्यालय सहयोगीको रुपमा कार्यरत जनकपुर उपमहानगरपालिका -१२ कुवारामपुरका ५३ वर्षीय रास बिहारी खत्वेलाई जातीय छुवाछुत गरेको आरोपमा भन्दै पीडितले २०८२ भदौ १३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।
क्याम्पस प्रमुख कर्णले आफूलाई दलित भनी भेदभाव पूर्ण व्यवहार गरी मलाई क्याम्पस प्रमुखको कोठा लगायत अन्य कोठाहरूमा समेत प्रवेश गर्न रोक लगाई क्याम्पसका कर्मचारीहरू भेला भएको स्थानमा समेत बस्न नदिनुका साथै भेदभाव पूर्ण तथा अपमानजनक व्यवहार गरेको आरोप लगाउनु भयो ।
आरोपितले भदौ ५ गते क्याम्पस प्रमुखको कोठा अगाडि बसेको देखेपछि मलाई दलित भनी तिमी यहाँ बसेपछि मेरो कोठा छुइन्छ। तिम्रो पानी चल्दैन। तिमी पानी नचल्ने व्यक्ति किन मेरो कोठातिर आएको भनी अपमानजनक व्यवहार गरेको पीडितले बताउनु भयो।
पीडितले दिएको उजुरीमा मुलुकी अपराध संहिता २०७४ को दफा १६० बमोजिम भेदभाव पूर्ण व्यवहार गरेको त्यस्तै ऐ. संघीयताको दफा १७६ बमोजिम जातिपातिको आधारमा छुवाछुत गरी अपमानजनक व्यवहार गरेको हुँदा आरोपितलाई ऐ. संघीयताको दफा १६०(२),१६६(२) बमोजिम हदैसम्म सजाय गरी ऐ. संघीयताको १६९ बमोजिम आरोपितहरूबाट क्षतिपूर्ति दिलाई माग गर्दछु भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरी रेग्मीले भने क्याम्पस प्रमुख कर्णलाई बोलाई बुझ्ने कुरा भइरहेको बताउनुभयो।