सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा सीमान्तकृत समुदायको एकै परिवारका १६ जना सदस्य बेपत्ता भएका छन् ।
स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका १६ जना सदस्यहरू बेपत्ता भएका हुन् । एकान्तमा घर भएको सो परिवार कहिलेदेखि बेपत्ता भएको हो भन्ने खुल्न सकेको छैन । हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ ।

घरमा घर पालुवा जनावर भैँसी, बाख्रा, कुखुरा अलपत्र अवस्थामा छन् । उनीहरू साउन १० वा ११ गतेबाट नै बेपत्त भएको हुनसक्ने अनुमान गरिएको वडा नं ६ का वडाध्यक्ष रवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त परिवारले १८ जनाको सामाजिक सुरक्षा भत्ता बापतको करिक ८ लाख रुपैँय केही दिन अघि बुझेर लगेको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।
छिमेकीको घर नजिकै बाँधेको पाडोलाई तीन दिनदेखे घास पानी हाल्न कझही नआएपछि घरमा हेर्न जाँदा साउन १२ गते बिहान मात्रै घटना बारे थाहा भएको उहाँले बताउनुभयो । अहिले हायु परिवारको प्रहरी र स्थानीयले खोजी कार्य गरी रहेका छन् ।
घटना बारे थाहा पाएपछि साउन १२ गते बिहान प्रहरी टोली हायुको घरमा पुगेको थियो । हायुका परिवारका कुनै सदस्यसँग पनि सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो ।