नेपालगञ्ज स्थिति भेरी अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । सेवाग्राहीले अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध हुने रेबिजविरुद्धको खोप जेठ महिनादेखि अभाव हुँदा सेवाग्राहीले महँगो मूल्यमा निजी मेडिकलबाट खरिद गरी लगाउन बाध्य भएका छन् ।
भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले खोपको अभाव हुँदा सर्वसाधारणले नीजि मेडिकलबाट महँगोमा किन्नुपर्ने बाध्यता रहेको र सोकालागि पटक पटक प्रदेश कार्यालयलाई पत्राचार गर्दै आएको भएतापनि स्वास्थ्य सेवा विभागमा समेत उपलब्ध नभएकाले भ्याक्सिन बारे अझै अनिश्चित भएको बताउनुभयो ।
सरकारी अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध हुने रेबिजविरुद्धको भ्याक्सिन सेवाग्राहीले नीजि क्लिनिकबाट ६ सय ९० रुपियाँ तिरेर लगाउन बाध्य भएका छन् ।
भ्याक्सिन बाहिरबाट खरिद गरी भेरी अस्पतालको १८ नं. कोठामा लगाउन आएको कुरा खजुरा गाउँपालिका– ५ एलगाउँकी मैमी विकले बताउनु भयो ।
जानकी गाउँपालिका– २ बेलभारकी गुडिया कहारले एउटा खोपको भाइलले दुई जनालाई पुग्ने भएकोले खोप खेर जान नदिन, खरिद गर्न जाँदा एक जना साथी बनाउनु पर्ने दुःखेसो पोख्नुभयो
आफुले उक्त खोप ६ सय ९० रुपियाँमा खरिद गरी लगाउन बाध्य भएको पीडित नेपालगञ्ज उपमहानगरपालिका– २१ की राजकुमारी पासवानले बताउनुभयो । अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेकाले हाल सो स्थानमा मौज्दात शून्य भएको जानकारी प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।
सरकारी अस्पतालमा उक्त खोप नपाइए पनि मेडिकलहरुमा र नीजि अस्पतालहरुमा भने खोप पर्याप्त मात्ररामा हेको छ ।
