बगनासकाली गाउँपालिकाभित्र एउटा मात्रै एम्बुलेन्स छ । गाउँपालिकाको चापपानी स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स विगत दुई वर्षदेखि सञ्चालन नहुँदा सर्वसाधारणहरु मर्कामा परेका छन् ।
नागरिकहरु बिरामी पर्दा सदरमुकाम तानसेन तथा अन्य पालिकाहरुबाट एम्बुलेन्स मगाउनु पर्ने बाध्यता छ । बाहिरबाट एम्बुलेन्स मगाउदा महँगो पर्ने र एम्बुलेन्स आवश्यक हुँदा नपाइने अवस्था रहेको नागरिकहरुले गुणासो गरेका छन् ।
स्थानीय चिरञ्जिवी भट्टराईले विगत दुई वर्षदेखि चापपानी स्वास्थ्य चौकी अन्तर्गत रहेको एम्बुलेन्स चल्न नसकेको बताउनु भयो ।
स्थानीय पत्रकार भगवान भण्डारीले तत्काल एम्बुलेन्स सञ्चालन गरी जनतालाई सेवा दिनुपर्ने बताउनु भयो ।
नेपाल भारत सहयोग अन्तर्गत चापपानी स्वास्थ्य चौकीले एम्बुलेन्स प्राप्त गरेको थियो । बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले एम्बुलेन्स चलाउनका लागि चालक नपाउँदा एम्बुलेन्स चलाउन नसकिएको बताउनु भयो ।
आर्थिक वर्ष २०८२/८३ मा बगनासकाली गाउँपालिकाले ज्येष्ठ नागरिक, गर्भवती महिला र अशक्त नागरिकहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम अगाडि बढाए तापनि पालिकाभित्र रहेको एउटा एम्बुलेन्स पनि सञ्चालनमा ल्याउन नसकेको उहाँले बताउनु भयो ।