INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पताल हुम्लामा औषधी अभाव

जिल्ला अस्पताल हुम्लामा बजेटको व्यवस्था नहुँदा औषधीको अभाव भएको छ । औषधी अभाव भएसँगै जिल्ला अस्पतालमा आउने सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

गत जेठदेखि जिल्ला अस्पतालमा औषधीको अभाव भएपछि सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएको स्थानीय धनदेवी सिराले गुनासो गर्नुभयो । उहाँका अनुसार आफ्नो दुई वर्षीय छोरालाई ज्वरो आएको भन्दै जिल्ला अस्पतालमा जाँदा सामान्य सिटामोल समेत नभएर फर्कनु परेको गुनासो गर्नुभयो ।

नेपाल सरकारले नि:शुल्क उपलब्ध गराउदै आएको १ सय ८ प्रकारका औषधी हुम्ला जिल्ला अस्पतालमा नभएको उहाँले बताउनुभयो । सामान्य बिरामी स्थानीय सरकारका स्वास्थ्य शाखामै उपचार गरे पनि जटिल खालका बिरामी जिल्ला अस्पताल हुम्लामा जाने गरेका छन् । अस्पतालमा औषधी नपाउदा रित्तै हात घर फर्कनु पर्ने वाध्यता रहेको छ ।

जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, व्यापारी, उद्योगी, सिमकोट गाउँपालिका बाहेकका अन्य गाउँपालिकाका मानिसहरूको पनि बसोबास हुने भएकाले उनीहरु सिधै जिल्ला अस्पताल उपचार गर्न जाने गरेका छन् । उपचारका लागि जिल्ला अस्पतालमा सामान्य सिटामोल, जिवनजल, जुकाको औषधी समेत नपाउदा बाहिर औषधी पसलमा किन्नु पर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।

जिल्ला अस्पताल हुम्लामा औषधी व्यवस्थापनका लागी संघ, प्रदेश र स्थानीय सरकारलाई पटक पटक माग पत्र सँगै सम्बन्धित व्यक्तिलाई औषधीका लागी बजेटको व्यवस्था गरिदिन अनुरोध गरे पनि संघ सरकारले प्रदेश सरकारलाई जिम्मा दिएको र प्रदेशले स्थानीय सरकारलाई जिम्मा दिएको भन्दै झारो टार्ने काम गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारीको भनाइ छ ।

स्थानीय सरकारलाई भन्दा आफ्नो पालिकामै स्वास्थ्य शाखा भएकोले उक्त शाखामै औषधीको व्यवस्था गर्ने गरेकोले जिल्ला अस्पताललाई कुनै बजेटको व्यवस्था गर्न नसकिने प्रतिक्रिया दिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

आर्थिक वर्ष २०८१।०८२ मा संघ सरकारबाट १० लाख रुपियाँ बजेटको व्यवस्था गरिए पनि त्यो रकमले तीन महिना भन्दा बढी नधान्ने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीले बताउनुभयो ।

अन्य

भिडियो