INSEC Online

📅 २०८३ जेष्ठ २१

सचेतनाको अभावले नसर्ने रोगबाट प्रभावितको सङ्ख्या बढ्दो

उचित सावधानी र सचेतनाको अभावले पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च हुँदै गएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको २०८१/०८२ को तथ्याङ्क अनुुसार पाल्पामा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापका बिरामीको सङ्ख्या उल्लेख्य बढेको छ ।

स्वास्थ्य कार्यालयले यहाँका १० वटै पालिकामा ३० वर्षभन्दा माथि उमेर समूहका १३ हजार ५ सय ३६ जनामा नसर्ने रोगको परीक्षण गरेको थियो ।

जसमध्ये २५ प्रतिशतमा मधुमेहको समस्या, १४.५ प्रतिशतमा सामान्य तौल भएको, २.७ प्रतिशतमा कम तौल भएको, ३४.३ प्रतिशतमा बढी तौल भएका र ४८.५ प्रतिशतमा मोटोपन भएको पाइएको कार्यालयका क्षयकुष्ठ रोग अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो ।

उच्च रक्तचापको अवस्थामा २२ प्रतिशत सामान्य रहेको र ७८ प्रतिशतमा सुरुवाती चरणदेखि उच्च अवस्थामा पुगेको पाइएको छ । सबैभन्दा बढी मधुमेहका बिरामी बगनासकाली गाउँपालिकामा देखिएका छन् । फरक–फरक उमेर समूहमा परीक्षण गर्दा कडा प्रकृतिको मधुमेह सबैभन्दा बढी यहाँ ८ प्रतिशत भेटिएको उहाँले बताउनुभयो ।

सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ३.३ प्रतिशत बिरामी रहेका छन् । यस्तै रम्भा गाउँपालिकामा ७.५ प्रतिशत, माथागढी गाउँपालिकामा ६.६ प्रतिशत, रामपुर नगरपालिकामा ६.३ प्रतिशत, रिब्दीकोट गाउँपालिकामा ४.८ प्रतिशत, रैनादेवी गाउँपालिका र तानसेन नगरपालिकामा ४.७ प्रतिशत, निस्दी र तिनाउ गाउँपालिकामा ३.५ प्रतिशतमा कडा प्रकृतिको मधुमेह भेटिएको न्यौपानेले बताउनुभयो । सबै भन्दा बढी उच्च रक्तचापका बिरामी पनि बगनासकाली गाउँपालिकामै देखिएका छन् । यहाँ ८५ प्रतिशत बिरामीमा उच्च रक्तचाप देखिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले नागरिकले जीवनशैली, खानपानजस्ता कुरामा ध्यान केन्द्रीत नगर्दा नसर्ने रोगको जोखिम बढ्दै गएको बताउनुभयो । यस्ता रोग नियन्त्रणका लागि कार्यालयको सीमित स्रोत र साधानको प्रयोग गरी सचेतना, परीक्षणका कार्यक्रम गर्दै आएको प्रमुख पोखरेलले बताउनुभयो ।

अन्य

भिडियो