INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारको पर्खाल भत्किएपछि कैदीबन्दीको स्थानान्तरण

सदरमुकाम बेँसीसहरमा रहेको कारागारको गेट र पर्खाल भत्किएपछि कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कारागारको पश्चिमतिर रहेको कैदीबन्दी प्रवेश गर्ने गेट २०८२ असार ३२ गते भत्किएको थियो ।

गेट तर्फको पर्खाल सहित गेट भत्किएपछि कैदीबन्दीलाई तनहुँ र कास्की कारागारमा स्थान्तरण गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँमा ३० जना र कास्की कारागारमा ७८ जना गरी १ सय ८ कैदीबन्दीको स्थानान्तरण गरिएको हो । कैदीबन्दीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले चार ओटा बस र एउटा हाइस माइक्रोमा स्कटीङ सहित लगिएको थियो ।

कारागारको पर्खाल भत्किएपछि सुरक्षाका हिसाबले असुरक्षित भए पछि कारागार सारिएको हो । कैदीबन्दीले भने जिल्लामै राख्नु पर्ने माग राख्दै आएका थिए । लामो छलफल, अन्तक्र्रिया पश्चात भएको लिखित प्रतिबद्धतापछि साउन ३ गते कैदीबन्दी स्थानान्तरण हुन सहमत भएका थिए । कारागारको मर्मतपछि उनीहरूलाई फेरि लमजुङ ल्याइने सर्तमा स्थान्तरण गरिएको हो । अन्यत्र जिल्लामा रहँदा एउटै ब्लकमा रहने गरी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र कारागार प्रशासनसँग समन्वय गर्ने सहमति भएको छ ।

यसैगरी यहाँ बन्दीहरूले उत्पादन गरेका सामग्रीको सुरक्षा र बजारीकरणको जिम्मा कारागार प्रशासनले लिने सहमति भएको वार्तामा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसीले जानकारी दिनुभयो ।

कारागार प्रशासक बेनीबहादुर मुक्तानकाअनुसार करिब ३ मिटर पर्खाल भत्किएको छ । १० जना महिला र २५ जना पुरुष गरी ३५ जना क्षमताको कारागार भए पनि जिल्ला कारागारमा तेब्बर बढी कैदी र थुनुवा छन् । कारगारमा हाल ६ महिलासहित १ सय ८ जना कैदी र बन्दी रहेका छन् ।

वि.सं. २०२८ मा निर्माण गरिएको यस कारागारको हालसम्म पूर्णरूपमा मर्मत सम्भार हुन सकेको छैन ।

अन्य

भिडियो