११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बाँसगढी नगरपालिका– ४ का २६ वर्षीय नारायण चौधरीलाई १८ वर्ष २ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८२ असार २९ गतेको इजलासले कसुर ठहर गर्दै १८ वर्ष २ महिना कैद सजाय, ७ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतकी शाखा अधिकृत अमृता केसीले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८१ साउन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३१ गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई साउन ३१ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन ३१ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको थियो ।