कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईको छाउगोठमा बसेको समयमा सर्पको टोकाइबाट मृत्युभएको छ ।
महिनावारी भएको बेला ०८२ असार २७ गते छाउगोठमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट घाइतेभएकी दमाईको सेती प्रदेशिक अस्पतालमा असार २८ गते मृत्युभएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी सागर बोहराले बताउनु भयो ।
स्थानीय युवा सुचित्र सिंहका अनुसार महिनावारी भएको बेला छिमेकीको घरछेउ नजिकै रहेको छाउगोठमा सुतिरहेको अवस्थामा बिशालु सर्पको टोकाइबाट मृत्युभएको स्थानीय सुचित्र सिंहले बताउनु भयो ।
कमला दुई महिनाअघि मात्रै भारतबाट घर फर्किनुभएको थियो । परिवारको पक्की घर भए पनि रुढीवादी परम्पराका कारण महिनावारी भएको समयमा उहाँ छिमेकीको घरछेउ नजिकै छाउगोठमा बस्न बाध्य हुनुभएको थियो ।
महिनावारी भएको समयमा छाउगोठमा बस्नुभएकी दामाईको मृत्यृभएको घटना सार्वजनिक भएपछि १५ दिन भित्र नगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण छाउगोठ भत्काउन कृष्णपुर नगरपालिकाले निर्देशन जारी गरेको छ ।
कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टद्वारा हस्ताक्षरित सूचनामा सबै वडाबाट छाउगोठहरूको विवरण संकलन गरी कार्यालयमा बुझाउन, समयसीमा भित्र छाउगोठ हटाउन र नहटाउनेलाई १० हजार रुपियाँसम्म जरिवाना तथा कानुनी कारबाही गरिने उल्ल्ेख छ ।
राष्ट्रिय हलिया मुक्ति समाजका अध्यक्ष शिवी लुहारले मुलुकी अपराध संहिता २०७४ मा महिला रजस्वला र सुत्केरी भएको अवस्थामा छाउगोठमा राख्न नपाइने व्यवस्था भए पनि त्यसको परिपालना र कार्यान्वयन हुन नसकेको बताउनु भयो ।
मुलुकी अपराध संहिताको दफा १६८ मा छाउपडी बस्ने वा बस्न बाध्य पार्नेलाई ३ हजार रुपियाँ जरिबाना वा तीन महिना कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । राष्ट्रसेवकले यस्तो गरेको रहेछ भने थप तीन महिना सजाय हुने व्यवस्था भए पनि कार्यान्ववयनको अभावमा महिनावारी भएको समयमा महिलाहरुको अकालमै ज्यान गुमाउनु परेको छ ।